फर्निचर खरिदमा व्यापक अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा आर्थिक वर्ष २०७३।०७४ मा फर्निचर खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा जोशीमाथि ४ लाख ४७ हजार ५ सय बिगो मागदावीसहित विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
उनी हाल धनुषको बटेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुन्।
वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको, बिल अनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सीमित हुने गरी सामानहरु खरिद गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले भ्रष्टाचार गरेको ठहर गरी अख्तियारले मुद्दा दायर गरेको हो।
जोशी सरुवा भएर त्यो पालिकाबाट गएपश्चात कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामानहरु खरिद नगरी वा हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाई भुक्तानी लिने, दिने कार्य गरेको, फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिद गरिएकोमा खरिद भएका सामग्रीहरु मध्ये रु. ४ लाख ४७ हजार ५०० बराबरका सामग्रीहरु कार्यालयमा नरहेको अख्तियारले जनाएको छ।
जोशीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर पुष्टि हुन आएकोले हानिनोक्सानी गरेको बिगो चार लाख ४७ हजार ५ सय बिगो कायम ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र ऐनको दफा ३ (१) (घ) बमोजिम कैद सजायको मागदाबी गरिएको छ।
एकवर्ष अघि बटेश्वर गाउँपालिकामा सरुवा भएर आएपछि तत्कालिन गाउँपालिका प्रमुख डम्बर बहादुर राउत क्षेत्रीलाई प्रभावमा पारेर व्यापक अनियमिता गरेको आरोप छ। केही दिनअघि गालीगलौज गरेको भन्दै उनलाई कार्यालयमै कर्मचारीहरुले कुटपिट गरेका थिए। त्यस बेलादेखि उनी कार्यालय आउन छाडेका छन्।
तत्कालिन बटेश्वर गाउँपालिका प्रमुख क्षेत्रीसमेत ८ लाख घुस रकम फालेर फरार भएका थिए। अख्तियारमा सेटिङ गरी कार्यालयमा हाजिर भएका क्षेत्री सेटिङमा अनियमितता गर्नकै लागि प्रशासकीय अधिकृत जोसीलाई सरुवा गराई ल्याएको चर्चा थियो।
क्षेत्री संघीयता आएयता पालिकाहरुमै कार्यरत रहँदै आएका छन्। पालिकाहरुमा व्यापक अनियमितता गरी उनले महोत्तरीको बर्दिबासमा घरघडेरीसहित अकुत सम्पती आर्जन गरको आरोप छ।
Shares
प्रतिक्रिया