संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन्।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बुधवार बोल्दै मन्त्री श्रेष्ठले सरकारले ठूलो लगानी गरेको वायुसेवा निगममा अयोग्य नेतृत्वका कारण जनताले सेवा लिनबाट बञ्चित हुने तथा विभिन्न दुःख पाउने गरेको आरोप लगाए।
उनले अयोग्य नेतृत्वकै कारण सरकारले जनतालाई सुविधा दिन लगानी गरेको संस्था आन्तरिक तथा अन्तराष्ट्रिय उडानतर्फ थला परेको पनि बताए।
उनले नेतृत्व अयोग्य भयो भन्दा यस्तै नेतृत्वको निरन्तरताका लागि अदालतबाट स्टे आउने गरेको बताए। मन्त्री श्रेष्ठले वायुसेवा निगमको नेतृत्वले म सरकारी निकाय हो, सुतिसुति खान्छु भनेर सेवा प्रदान गर्नु देशको लागि दुर्भाग्य हुने बताए।
श्रेष्ठले प्रतिष्पर्धाको युगमा निगममा दक्ष नेतृत्व ल्याउन आवश्यक रहेको बताए। उनले सरकारले नियुक्त गरेको अयोग्य व्यतिलाई नियमित तलब खुवाएर राख्नैपर्ने प्रवृत्तिबाट मुक्त हुन आवश्यक रहेको बताए।
निगम व्यवस्थापनले कोभिडको तुलनामा यतिखेर आम्दानी वृद्धि गर्नु भनेको हाँस्यास्पद रहेको भन्दै कोभिडबाट मुक्त भएसँगै व्यवसाय चलायमान हुनु स्वभाविक भएको उल्लेख गरे।
निगमले सरकारले गरेको लगानी उठे नउठेको विषयमा मौन बसेर विगतकोभन्दा अहिले आम्दानी गरेँ भनेर निगम नेतृत्वले तर्क पेस गर्नु हाँस्यास्पद भएको उनको भनाइ थियो।
श्रेष्ठले निगम आफैँले प्रतिष्पर्धी बनाउन आवश्यक रहेको भन्दै सधैँ राज्यले लगानी गरेर निगम चलाउन नसक्ने
बताए।
‘जनताको लगानी भएको संस्थाबाट जनताले नै सेवा नपाउनु देशको समस्या हो। अयोग्य व्यक्तिका कारण जनताले सेवा लिन सकेका छैनन्। अनि यस्तै नेतृत्व निरन्तरताका लागि अदालतबाट स्टे आउँछ। म सरकारी निकाय हो, सुतिसुति खान्छु भनेर सेवा प्रदान गर्न पाइँदैन। यो बिडम्बना हो। देशकै लागि दुर्भाग्यको कुरा हो। प्रतिष्पर्धाको युगमा निगममा दक्ष नेतृत्व ल्याउन आवश्यक रहेको छ', उनले भने, 'सरकारले नियुक्त गरेको अयोग्य व्यतिलाई नियमित तलब खुवाएर राख्नैपर्ने प्रवृत्तिबाट मुक्त हुन आवश्यक रहेको छ। निगम व्यवस्थापनले कोभिडको तुलनामा यतिखेर आम्दानी वृद्धि गर्नु भनेको हाँस्यास्पद हो। संसार ठप्प भएको बेला कहाँबाट आम्दानी हुन्छ। कोभिडबाट मुक्त भएसँगै व्यवसाय चलायमान हुनु स्वभाविक हो।'
Shares
प्रतिक्रिया