भारतीय पक्षले दार्चुलास्थित महाकाली नदी नेपालतर्फ धकेल्ने गरेर निर्माण गरेको ‘बाँध’ हटाउन दिइएको १० दिनको समयावधि घर्किएको छ।
तर भारतीय पक्षले अझैसम्म महाकाली नगरपालिका–४ रिङ्गे ताल क्षेत्रमा तटबन्ध निर्माण गर्दा बनेको बाँध हटाएको छैन।
‘भारतले अझैसम्म बाँध हटाएर महाकालीको पानी बीचमा बगाउने कुनै काम गरेको छैन, गर्छौं भनेर मात्रै भनेका छन्,’ स्थानीय अमन बोहराले भने, ‘महाकाली बीचमा नबग्दासम्म हामी काम गर्न दिदैनौं।’
उनका अनुसार भारतीय पक्षले महाकालीमा तटबन्ध निर्माण गर्दा रिङ्गे ताल क्षेत्रमा थुप्रो लागेर बनेको बाँधले नदीको धार नेपालतिर फर्किएको छ।
नेपाल र भारतीय प्रशासनबीचको छलफलमा भारतीय पक्ष उक्त थुप्रो हटाउन र तटबन्ध निर्माणमा विवाद भएको ठाउँमा तत्काल काम नगर्न सहमत भएको थियो।
तटबन्ध निर्माणका क्रममा बनाइएका अस्थायी संरचना र महाकाली नेपालतिर धकेल्ने संरचना हटाउने भारतलाई १० दिनको समय दिइएको थियो। तर यसअवधिमा पनि भारतले महाकालीको धार परिवर्तन गर्ने संरचना हटाउने काम नगरेको स्थानीयको भनाइ छ।
१८ मंसिरमा भारतीय पक्षले महाकाली नदी नेपालतिर धकेल्ने गरी एकलौटी रुपमा तटबन्ध निर्माण हुन थालेपछि दार्चुलाका स्थानीय भारतको विरोधमा उत्रिएका थिए।
भारतीय नागरिकले विरोधमा उत्रिएका नेपालीमाथि ढुंगामुढासमेत गरे। त्यसपछि नेपाली नागरिकले पनि प्रतिकार गरेका थिए।
भारतीय पक्षबाट भएको ढुंगामुढामा नेपालतिर ४ जना घाइते भएका थिए। त्यसको विरोधमा महाकालीमाथिको नेपाल–भारत जोड्ने पुल नेपाली नागरिकले बन्द गराएका थिए।
अर्को दिन भारतीय पक्षले पनि पुल २ घण्टा बन्द गरायो। त्यति मात्रै होइन, सो घटना पछि भारत प्रवेश गर्ने नेपालीमाथि भारतले चेकजाँचमा कडाई समेत गरेको थियो।
नेपाल–भारत सीमामा भइरहेको तनावको सर्वत्र विरोध पछि सरकारले भारतलाई कुटनीतिक नोट पनि पठाएको थियो। त्यसपछि नेपाल र भारतका स्थानीय प्रशासनले छलफल गरेर सीमामा भइरहेको तनाव हटाउने सहमति गरेका थिए।
महाकाली नगरपालिका–४ रिङ्गे तालस्थित तटबन्ध निर्माणको क्रममा बाँधिएको बाँध हटाएर महाकाली नदीलाई बिचबाट बगाउन भारत सहमत भएको थियो।
तर उक्त संरचना अझै हटाइएको छैन। तटबन्ध निर्माणको काममा संलग्न कामदारमाथि नेपालतिरबाट ढुंगामुढा गरेको आरोपमा अरुण कन्स्ट्रक्सनले ७ जना विरुद्ध धार्चुला प्रहरी थानामा उजुरी दर्ता गराएको छ।
Shares
प्रतिक्रिया