ग्यास विस्फोटनमा घाइते भएर उपचारका लागि भारत लगिएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई भोलिदेखि अक्सिजन दिन बन्द गरिने भएको छ।
उनको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि भोलिबाट अक्सिजन दिन बन्द गरिने भएको हो।
मुम्बईमा रहेका कांग्रेस कार्यकर्ता माधव न्यौपानेले आज राति ५ लिटर अक्सिजनमा मात्र रिजर्भायर ब्याग मास्कमा राखिने र भोलिबाट त्यो प्रयोग नगर्ने जानकारी दिए।
उनले इन्फेक्सनको मात्रा पनि कम हुँदै गएको बताए।
‘अनुहारमा नयाँ छाला उत्साहजनकरुपमा पलाएको तर हातहरुमा अलि अलिमात्र पलाएको छ। एक हप्ता अझै हेरेर मात्र आवश्यकता भएमा हातको ग्राफ्टिङ्ग गरिनेछ’, उनले भने।
डा भण्डारीले उपचारमा खटिएका डा. सुनिल केशवानीलाई धन्यवाद समेत भनेका छन्।
न्यौपानेले भने, ‘डा केशवानीले मलाई भन्नुभयो- निश्चिन्त हुनु बिरामी एकदमै छिटो रिकभर भइरहेको छ। चिन्ता लिनुपर्दैन। ४ दिनपछि सायद आईबीसीयू (इन्टेन्सिभ बर्न केयर युनिट) बाट बाहिर निकाल्नेछौँ।’
Shares
प्रतिक्रिया