'...के छ्याप्यो? मैले केही थाहा पाइनँ। अनुहार एकदमै पोल्न थाल्यो, म चिच्याउँदै माथि गएँ, पोलाइको प्रताडना सहन नसक्ने थियो। छतमा पानी खोजेँ, भेटिनँ। थचक्क भुइँमा बसेँ। बुवा आउनुभयो, गन्धले थाहा पाउनुभयो- ममाथि त एसिड आक्रमण भएछ,' राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसद बनाउने निर्णय गरेकी विन्दवासिनी कंशाकार त्यो कठोर समय सम्झिँदा अझै भक्कानिन्छिन्।
रास्वपाले ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि समानुपातिक सूचीबाट विन्दवासिनी कंशाकारलाई निर्वाचित गराउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको छ।
श्रेष्ठलाई औपचारिक रुपमा पदमुक्त गर्न रास्वपाले संसद् सचिवालयमा पत्र पठाउनुपर्छ। संसद् सचिवालयमा गएको पत्र सभामुखले प्रतिनिधिसभाको बैठकमा पढेर सुनाएपछि उक्त पद रिक्त हुन्छ।
सभामुखले उनको पद रिक्त रहेको जानकारी गराएपछि निर्वाचन आयोगले नयाँ सांसद चयनको आवश्यक प्रक्रिया थाल्नेछ। अनि रिक्त पदमा कंशाकारलाई अघि सार्ने निर्णय रास्वपाको छ।
रास्वपाको केन्द्रीय सदस्यसमेत रहेकी मकवानपुरकी कंशाकार एसिड पीडित महिला हुन्। १० वर्ष अघि उनी एसिड आक्रमणमा परेकी थिइन्। रास्वपा स्थापना कालदेखि नै जिल्ला सदस्य रहेकी उनलाई केही साता अघि मात्रै पार्टी सभापति रवि लामिछानेले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।
बिहेको प्रस्ताव अस्वीकार गरेपछि एक भारतीय नागरिकले उनीमाथि एसिड आक्रमण गरेको थियो।
फुपूका छोराको मिल्ने साथीको रूपमा उनको भारतीय नागरिक दीलिपराज केशरीसँग परिचय भएको थियो। केशरी फुपूको घरमा बारम्बार आइरहन्थे। त्यही क्रममा कहिलेकाहीँ भेट हुन्थ्यो।
केटीहरूसँग बढी नजिकिन खोज्ने स्वभावको केशरी त्यसपछि हेटौंडाको मुख्य सडककमा अवस्थित विन्दवासिनीको पसलमा पनि आउन थाल्यो। कलेज जाँदा, ट्युसन जाँदा पनि बाटो ढुकेर बस्ने र पछ्याउने गर्न थाल्यो।
तारन्तर फोन गरेर सताउन थाल्यो। फोनबाटै बिहेको प्रस्ताव राख्यो।
विन्दवासिनीले सम्झाउने प्रयास गरिन्, तर केशरीले त्यसरी प्रस्तुत हुन छाडेन। बिहेका लागि दबाब दिन थाल्यो। अनि विन्दवासिनी त्यो मान्छेसँगै टाढै बस्नुपर्छ सोचेर सक्दो पन्छिन थालिन्।
२०७० वैशाख ९,
बुवा आमाको वैवाहिक वर्षगाँठ(एनिभर्सरी)। विवाह भएको दिनलाई उत्सवका रूपमा भव्य बनाउने तयारी भइरहेको थियो।
त्यही बेला पसलअगाडि केशरी देखा पर्यो। विन्दवासिनीले नदेखेझैँ गरिन्। महको सानो भाँडोमा एसिड लिएर आएको केशरी बिर्को खोलेर उनको अनुहारमा छ्यापेर भाग्यो।
कल्पनामा पनि अनुभव गर्न नसकिने जलन र छट्पटाहटसहित उनी चिच्चाउन थालिन्।
विन्दवासिनीको चिच्याहट सुनेर बुबा, आमा, दाइ आत्तिँदै आए। छोरीको अनुहारमा कसैले तेजाब खन्याइ दिएको थाहा पाएका बाबुले रुँदै पानी खन्याउन थाले। त्यो पल सम्झँदा अहिले पनि अत्यास लाग्ने विन्दवासिनी सुनाउँछिन्।
शारीरिक एवं मानसिक चोटले गम्भीर बनेकी विन्दवासिनी न्याय प्राप्तिको लडाइँमा अनवरत लडिरहिन्। त्यो घाउ एकातर्फ, अर्कोतर्फ अझ बढी चर्चराउँथ्यो न्याय नपाएको घाउ।
यसरी सरकारलाई झक्झकाउने ठाउँमा पुगेकी कंशाकार आफै न्यायका लागि ८ वर्षसम्म यत्रतत्र भौतारिइन्। तर लामो समयसम्म उनले न्याय पाइनन्। ८ वर्षसम्म अनवरत लडिरहिन्।
'न्याय नपाउँदा मनमा त्यति नै जलन हुन्थ्यो, जति एसिड आक्रमणपछि अनुहारमा भएको थियो,' उनी भन्छिन्, 'रुँदा मन हलुंगो हुन्छ भन्थे, म त रुन पनि सक्थिनँ। आँसु खस्दा तेजाबले पोलेको छाला झनै चर्चराउँथ्यो।'
अन्तत: २ वर्षअघि पीडकलाई प्रहरीको कठघरमा उभाइयो। केशरीलाई ज्यान मार्ने उद्योगअन्तर्गत ८ वर्ष कैद र १ करोड १४ लाख रुपैयाँ जरिवानाको फैसला भयो। तर 'ढिलो न्याय पाउनु भनेको 'ढिलो न्याय दिनु, न्याय नदिनु हो' भनेरसरह थोरै मात्रै न्यायको प्रत्यानुभूति भएको उनी बताउँछिन्।
लामो समय एसिड आक्रमणको पीडामा परिवारको साथमा लडिरहेकी उनी यसअघि अरु कुनै पार्टीले साथ नदिएको बताउँछिन्। तर रास्वपाले सधैँ साथ दिएर हरेक क्षेत्रमा अघि बढाएको भन्दै खुसी व्यक्त गर्छिन् उनी।
उनको अनुहारमा निकै क्षति पुगेको छ। अहिलेसम्म उनले २० पटक अनुहारको शल्यक्रिया गराइसकेकी छन्।
रास्वापाले साथ दिएर हरेक क्षेत्रमा अघि बढाएको भन्दै खुसी व्यक्त गर्छिन्। गत मंसिर ४ मा सम्पन्न ८औँ आम निर्वाचनमा मकवानपुरबाट समानुपातिक उम्मेदवार थिइन् उनी। त्यहाँ समानुपातिकतर्फ रास्वपालाई ३९ हजारभन्दा बढी मत खसेको थियो।
हिम्मन नहारे एकदिन सबैको दिन आउने बताउने अब प्रतिनिधिसभामा भेटिनेछिन्। पार्टीले महिलासहित सबै क्षेत्रलाई अघि बढाउन खोज्नु प्रशंसनीय भएको बताउँछिन्। तर अझै राज्यबाट खासै न्यायको अनुभूति नगरेको उनी बताउँछिन्।
'मेरो परिवार, मेरो बुवा यहाँसम्म म आइपुग्नुका मेरुदण्ड हुन्,' उनी भन्छिन्, 'राज्यबाट त खासै न्यायको अनुभूति गर्नै पाइनँ।'
तर अब अन्य पीडितलाई राज्यप्रति भरोसा हुनेगरी संसद्मा आवाज उठाउने प्रण उनी गर्छिन्।
एसिड आक्रमणको पीडा भोगेकी उनले अब संसदको रोष्टममा उभिएर आफू जस्तै एसिड पीडितहरुको लागि न्याय दिलाउने ऐन कानुन निर्माणमा जोड दिने बताइन्। ‘सरकारले अहिले ल्याएको एसिड आक्रमणको कानून फितलो छ, यसलाई परिमार्जन गर्न पहल गरेर सहजै न्याय पाउन सकिने ऐन कानुन निर्माणमा जोड दिनेछु,’ उनले भनिन्।
एसिड मात्रै होइन अन्य क्षेत्रका पीडितका लागि पनि आवाज उठाउने उनी बताउँछिन्। 'एसिडले पोलेर मात्रै होइन देशमा बार्षिक हजारौं मानिस अपराधको कारण, दुर्घटनाका कारण र गरिबीका कारण जलिरहेका छन्, प्रतिनिधिसभामा ती सम्पूर्ण जलेका मन, जलेका अनुहार र जलेका परिवारको न्यायको लागि प्रतिनिधित्व गर्नेछु,’ उनले बताइन्।
Shares
प्रतिक्रिया