सुनकोशी नदीमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई निर्देशक र अधिकृतको खोजीमा थप ४ गोताखोर परिचालन गरिएको छ।
कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा थप ४ जना गोताखोरसहित ७ जनाको टोली सिन्धुलीको लागि प्रस्थान गरेको सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सानोठिमीस्थित सीटीईभीटीबाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो शुक्रबार बिहान ११ बजे सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो।
स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए। बाँकी तीन जना अझै बेपत्ता छन्।
बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भइ सीटीईभीटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका–७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र फाकफोकथुम गाउँपालिका–४ घर भइ हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल छन्।
सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो। घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उनको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीको भनाइ छ।
Shares
प्रतिक्रिया