ad ad

समाज


सन्दीपका वकिलको तर्क- भण्डारीको डायरीलाई तरबार बनाइयो

सन्दीपका वकिलको तर्क- भण्डारीको डायरीलाई तरबार बनाइयो

टोपबहादुर रायमाझीका छोरा सन्दीप र अधिवक्ता बाबुराम दाहाल (फाइल तस्बिर)


नेपालखबर
जेठ २८, २०८० आइतबार २१:५८, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस भइरहँदा प्रतिवादीका वकिलले नछाडेको विषय हो–सानु भण्डारीको हरियो डायरी। यही डायरी प्रहरीले पनि ठूलो प्रमाण ठान्यो। यहाँ उल्लेख भएकै आधारमा शरणार्थी प्रकरणमा संलग्न बनाइयो। 

अभियोग पत्रसाथ बुझाएको प्रमाणमा पनि यसलाई वादी पक्षले बलियो प्रमाणका रुपमा पेश गरेको छ। यहाँ क–कसलाई कति–कति रकम दिएको भन्ने उल्लेख छ। 

टोपबहादुरका बाबुछोरादेखि अन्य थुप्रैलाई रकम दिएको उल्लेख छ। शरणार्थी प्रकरणमा धेरैलाई तान्ने यो डायरी प्रतिवादीको बहसको पहिलो दिनदेखि नै केन्द्रमा छ।

शुक्रबार टोपबहादुर रायमाझीका वकिलले इजलासमै यो डायरी मागे र त्यहाँ उल्लेख विषयमाथि प्रश्न उठाए। आइतबार टोपबहादुरका छोरा सन्दीपका तर्फबाट बहस गरेका वकिल पनि यो डायरी बाहिर गएर बहस गरेनन्।

बहसको सुरुवात चर्किएर गरेका थिए, अधिवक्ता बाबुराम दाहालले।

यति चर्किए कि केही मिनेटमा न्यायाधीशले नै उनलाई सम्झाउनुपर्ने अवस्था आयो।

थुनछेक बहस गरिरहेका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दाहाललाई भने, ‘नरिसाई बहस गर्नुस्। म यहिँ अगाडी छु सुन्छु त। इजलासमा रिसाउनुपर्छ?’

न्यायाधीशले यति भनिसकेपछि बाबुराम दाहालको रफतार घट्यो।

त्यसअघिसम्म चर्किएर बहस गरेका उनले नरम श्वरमा भने, ‘कतिपय अवस्थामा मनैबाट आउँदो रहेछ श्रीमान्, रिसाएको होइन। मैले कति बहस गरिसकेँ होला, श्रीमानले कति सुनुवाई गरिसक्नु भयो होला, तर वास्तवमै सन्दीप पीडित छन् श्रीमान।’

बाबुले कसुर गरेकै भचए पनि छोरालाई प्रतिवादी बनाउन नमिल्ने उनले बताए। सानु भण्डारीलाई कम्पनीको शेयर दिएर डाइरेक्टर बनाउँदा शरणार्थी बनाएर ठगी गरेको कसुर सन्दीपलाई लगाइएको जिकिर उनले गरे। 

यस्तै, सानु भण्डारीको डायरीलाई तरबार बनाइएको पनि उनको दाबी छ। 

त्यसअघि वरिष्ठ अधिवक्ता ईश्वरी भट्टराईले टोपबहादुरको छोरा भएकैले प्रतिवादी बनाइएको हो कि भन्ने शंका व्यक्त गरे। 

उनले पनि सानु भण्डारीको डायरीलाई नै केन्द्रमा राखेर बहस गरेका थिए। 

‘सानु भण्डारीको डायरीमा एउटै समयमा, एउटै कलमले, एउटै लयमा लेखिएको छ। त्यो शंकास्पद छ । अनुसन्धानका क्रममा प्रहरीले लेखेको हो कि सानु आफैंले पहिल्यै लेखेका थिए भन्ने’, भट्टराईले भने, ‘सानु भण्डारीले नाम लिएका जति सबैलाई प्रतिवादी बनाएको भए सन्दीप पनि त्यसैगरी परे भन्ने हुन्थ्यो। तर अरुलाई उन्मुक्ति दिएर उनलाई मात्रै फसाउने नियत राम्रो भएन।’

सन्दीपले सानु भण्डारीबाट लिएको रकम शरणार्थी बनाएर ठगी गरेको नभई कम्पनीका नामको शेयर सानु भण्डारीलाई दिएर त्यसबापत लिएको बताए। त्यो रकम कम्पनीकै खातामा जम्मा भएको पनि उनको दाबी छ। 

अधिवक्ता अवतार न्यौपाने त सन्दीपलाई पुर्पक्षका लागि पठाउँदा राज्यलाई ठूलो क्षति हुने दाबी गरे। 

‘सन्दीपले व्यवसाय गरेर राज्यलाई ट्याक्स तिरिरहेका छन्। सन्दीपलाई थुनामा पठाउँदा राज्यले राजश्व पनि गुमाउनु पर्ने हुन्छ। उनी थुनामा गएपछि कम्पनी बन्द हुन्छ। कम्पनी चलेन भने त्यहाँबाट आउने राजश्व गुम्छ। राज्यलाई पनि घाटा हुने भएकाले सन्दीपलाई थुनामा पठाउनु हुन्न, साधारण तारेखमा छाड्न पर्छ’, न्यौपानेले भने। 

अन्तिमा अधिवक्ता प्रविण सुवेदीले पनि उनको पक्षबाट बहस गर्दै साधारण तारेखमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्न माग गरे। 

सन्दीपको पक्षबाट बहस सकिएपछि आइतबार नै सचिव टेकनारायण पाण्डेको तर्फबाट बहस सकिएको छ।

पक्राउ परेका १८ मध्ये ९ जना प्रतिवादीको तर्फबाट अझै बहस हुन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .