जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वकिल अमिर लामिछाने रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय ललितपुरले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
असार १३ गते अदालतमै कर्मचारीलाई कुटेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनीविरुद्ध अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर हिरासतमा राखिएको थियो।
तर आइतबार प्रशासनले साधारण तारेखमा रिहा गर्न आदेश दिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए।
नासु तामाङमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका अदालतका कर्मचारीले दिउँसो साढे १ बजेसम्म कामकाज ठप्प पारेका थिए।
यता वकिल पक्राउको विरोधमा नेपाल बार एशोसिएसनले लामिछानेलाई २४ घन्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको थियो। बारले विज्ञप्ति जारी गर्दै रिहा नगरे सोमबार देशभरका अदालतमा बहस नगर्ने चेतावनी समेत दिएको थियो।दोहोरो आन्दोलनका कारण इजलास आइतबार पनि प्रभावित भएका छन्। लामिछानेविरुद्ध अदालतमा पनि अवहेलनाको मुद्दा दायर भएको छ।
Shares
प्रतिक्रिया