ad ad

समाज


‘खुला सिमानाले राष्ट्रिय सुरक्षामा चुनौती’

‘खुला सिमानाले राष्ट्रिय सुरक्षामा चुनौती’

नेपालखबर
साउन १, २०८० सोमबार १८:२, काठमाडौँ

सरकारले खुला सिमाना हुनु देशको राष्ट्रिय सुरक्षामा चुनौतीको रुपमा रहेको बताएको छ।

गृह मन्त्रालयले राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले माग गरे बमोजिमको लिखित विवरण पठाउँदै नेपालको छिमेकी देशसँग खुला सिमाना हुनु राष्ट्रिय सुरक्षामा चुनौती भएको बताएको हो।

सोमवार बसेको समितिको बैठकमा समिति सचिव सीता काफ्ले वाग्लेले गृह मन्त्रालयले पठाएको विवरण पढेर सुनाएकी थिइन्। सो विवरणमा खुला सीमानाका कारण मानव बेचबिखन, हातहतियार ओसारपसार लागुऔषध ओसारपसार र सीमा पारीबाट अपराधिक व्यक्ति, समूह प्रवेश गरी लुटपाट एवं अन्य अपराधिक घटना घटाउने चुनौति रहेको उल्लेख गरिएको छ।

त्यस्तै सीमा पारी अपराध गरेर सीमा वारी आइ लुक्ने प्रवृत्ति रहेको र भन्सार नभएका बिन्दुहरुबाट चोरी, निकासी, तस्करी हुने गरेको पनि उल्लेख गरिएको छ। खुला सिमानाको फाइदा उठाउँदै अवैध रुपमा शरणार्थीहरुको प्रवेश र तेस्रो देशका नागरिकहरुको अवैध घुसपैठ हुने गरेको पनि जनाइएको छ।

सरकारले सीमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको परिचालन गरेको जनाएको छ। नियमित रुपमा सीमावर्ती समकक्षीहरुसँग बैठक गरी अन्तरसीमा अपराध नियन्त्रण लगायतका विषयमा समन्वय गरिएको उल्लेख छ।

त्यस्तै, सीमा स्तम्भहरुको नियमित रुपमा अनुगमन गरी भत्किएका, बिग्रिएका सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको सरकारको विवरणमा बताइएको छ। सशस्त्र प्रहरी बल नेपालबाट १४ हजार २१२ जनशक्ति सीमा सुरक्षार्थ परिचालन गरिएको र हालसम्म भारततर्फ २४२ र चीनतर्फ ८ गरी जम्मा २५० स्थानमा बिओपी स्थापना भइ सञ्चालनमा रहेको स्पष्ट पारिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .