ad ad

समाज


मुग्लिनको जाम खुलाउन रास्वपाको अलग्गै टिम, प्रशासनले भन्यो : राज्यका अंग नै सक्षम छन्

मुग्लिनको जाम खुलाउन रास्वपाको अलग्गै टिम, प्रशासनले भन्यो : राज्यका अंग नै सक्षम छन्

नेपालखबर
साउन २४, २०८० बुधबार १३:२७, काठमाडौँ

निरन्तर पानी परेका कारण दैनिकजसो अवरुद्ध भइरहने नारायणगढ–मुग्लिन सडक खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले र्‍यापिड एक्सन टिम (आरएटी) खटाएपछि स्थानीय प्रशासनले आपत्ति जनाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार एक विज्ञप्ति नै निकालेर रास्वपाको उक्त कदममा गम्भीर ध्यानाकर्षण जनाएको छ। 

पहिरोका कारण घण्टौँ भइरहने जाम खुलाउन सुन्तला रंगको विशेष पोसाक र सञ्चार सेटसहित आरएटी लेखिएको युवा खटिएपछि प्रशासनले ध्यानाकर्षण भएको जनाएको हो। 

रास्वपा मंगलबार मात्रै जाममा परेका सवारी साधनका लागि ट्राफिक व्यवस्थापन गर्न भन्दै बागमती प्रदेश संयोजक विजय गुप्ता नेतृत्वमा ५० जनाको टोली परिचालन गरेको थियो। 

तर, रास्वपाको उक्त कदमप्रति आपत्ति जनाउँदै जिल्ला प्रशासनले राजमार्गको पहिरो, ट्राफिक जामजस्ता कुराको व्यवस्थापन गर्न सुरक्षा निकायसहित राज्यका अंग नै सक्षम रहेको जनाएको छ।

‘ठूला विपदका घटनाहरुमा राजनीतिक दल, नागरिक समाज लगयात आमसर्वसाधारण नागरिकबाट कुनै अमुक दल तथा सोअन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्योहोरा यसै सूचनाद्वारा जानकारी गराउँछौँ,’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भनेका छन्, ‘विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू नै सक्षम छन्।’

प्रशासनले रास्वपाका कार्यकर्ताले सञ्चारका लागि प्रयोग गरेको वाकिटकी स्वीकृति लिइएको तथा दर्तावाला भए नभएको छानबिन गर्न पनि प्रहरीलाई निर्देशन दिएको छ।

पौडेलले ठूला विपद्का घटनामा कुनै दल विशेष वा संगठनको परिचयबिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीका रुपमा राजनीतिक दल, नागरिक समाजलगायत आम सर्वसाधारणले जिल्ला, स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति लिएर, सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने बताए।

तर मंगलबार कुनै अमुक दल तथा त्यसअन्तर्गतको संगठनको सहयोग नलिइएको र त्यसका लागि स्वीकृति पनि नदिइएको पौडेलले बताएका छन्।

यसअघि चितवन क्षेत्र नम्बर २ मा महिलाका लागि नि:शुल्क बस र मोबाइल भ्यानका कारण रास्वपा सभापति रवि लामिछाने विवादमा परेका थिए।

उनले बस र भारतले पुरानो मेडिकल कलेजलाई उपलब्ध गराएको एम्बुलेन्समा यातायात कार्यालयको अनुमति नलिई रंग परिवर्तन गरेर प्रयोगमा ल्याएका थिए। विवादमा परेपछि रंग फेरिएको एम्बुलेन्स उनले फिर्ता गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .