नेपाली सेनाले मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८ गंगाटेस्थित बागमती खोलाको खोचमा फेला परेको शवलाई खोचबाट निकालेको छ।
सेनाले सो शव थप अनुसन्धानका लागि प्रहरीलाई बुझाएको जनाएको छ।
सेनाले बाढी, पहिरो तथा आगलागीबाट प्रभावित स्थानहरुमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। यसै क्रममा सेनाले मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–७ जिल्लिस्थित पहिरोका कारण अवरुद्ध सडकखण्डमा सडकको पहिरो पन्छाई पैदलयात्रीहरुलाई आवतजावत गर्न बाटो सुचारु गरेको छ।
यसैगरी बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–४, शाहीलेकस्थित समृद्धि सुनचाँदी पसल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१० हारसरमा रहेको परालको कुन्युमा भएको आगलागीले नजिकैको घरहरूमा समेत क्षति पुर्याउने देखिएकोले अन्य सुरक्षा निकायहरु तथा स्थानीयको सहयोगमा नियन्त्रण गरिएको जनाएको छ।
यता, मुसिकोट नगरपालिका–२, रातामाटा (रुकुम पश्चिम) मा पहिरो गई स्थानीयको घरहरुमा क्षति पुग्ने देखिएकोले पहिरो तथा रुखहरु हटाएको छ।
Shares
प्रतिक्रिया