ad ad

समाज


पूर्णिमायासँग भीम उपाध्यायले माफी मागेपछि मिलापत्र, साइबर क्राइमको उजुरी पनि फिर्ता

पूर्णिमायासँग भीम उपाध्यायले माफी मागेपछि मिलापत्र, साइबर क्राइमको उजुरी पनि फिर्ता

नेपालखबर
भदौ १७, २०८० आइतबार १५:४७, काठमाडौँ

पूर्वसचिव भीम उपाध्यायले चितवनकी पूर्णिमाया गुरुङसँग माफी मागेका छन्।

पूर्णीमायाको विवादित फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै ‘गोरु खाने धराने’ लेखेपछि पूर्वसचिव उपाध्यायविरुद्ध साइबर क्राइमको उजुरी परेको थियो।

तर उपाध्यायले सार्वजनिक रुपमा माफी मागेपछि पूर्णिमाया पनि सहमत भएर दुवै पक्षले कागज गरेका छन्।

मिलापत्रपछि पूर्णिमायाले उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा दर्ता गराएको उजुरी पनि फिर्ता लिएकी छन्।

उनीहरुले उक्त घटनालाई लिएर आगामी दिनमा एकअर्काबीच आरोप-प्रत्यारोपमा नउत्रिने पनि सहमति गरेका छन्। उपाध्यायले पूर्णिमायासँग आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउने पनि प्रतिवद्धता जनाएका छन्। 

भरतपुर महानगरपालिका-१६ की पूर्णमाया गुरुङको फोटो दुरुपयोग प्रसंगमा यसअघि नै उपाध्यायले सार्वजनिक रुपमा माफी मागेका थिए।

तर पूर्णिमायाले गत भदौ १७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता गराएकी थिइन्।

पूर्णिमायाले साइबर क्राइममा उजुरी दिएपछि पूर्व सचिव उपाध्यायले फोन गरेर माफी मागेका थिए। उनले सामाजिक सञ्जाल फेसबुकमा पनि माफी माग्दै पूर्णमायाबारेको पुरानो पोस्ट हटाइसकेको बताएका थिए।

तर उनले आफू कानुनी प्रक्रियामा गइसकेको बताउँदै माफी नदिने बताएकी थिइन्। अन्तत: गुरुङ समुदायका नेताहरुको समेत पहलमा यो प्रकरण मिलाइएको हो। 

यसअघि त्यो असमझदारी पूर्णमाया गुरूङ र आफूबीच भएको बताउँदै उपाध्यायले तेस्रो पक्ष बीचमा नआउन पनि भनेका थिए। हिन्दुहरुले देउता मान्ने गरेको गोरु धरानमा काटिँदा पूर्णिमाया र आफू दुवै अपमानित भएको उनले बताएका थिए। 

‘हामी दुवै सनातनी हिन्दु र गाईगोरू पुजा गर्ने, गाई गोरूको मासु नखाने मान्यता राख्ने एकै समुदाय हौँ। धरानमा हामीले देउता मान्ने गोरू काटिँदा दुवैजना अपमानित भएका छौँ,’ उनले भनेका थिए।

आफूले गर्दै नगरेको गल्तीमा सामाजिक सञ्जालबाट खेपेको गाली बेइज्जतीविरुद्ध प्रहरीमा साइबर क्राइम उजुरी दिइसकेपछि अब त्यो फिर्ता नहुने पूर्णिमायाले बताएकी थिइन्। 

भरतपुर महानगरपालिका १६ की पूर्णिमायाले उपाध्यायविरुद्ध उजुरी दिएपछि पूर्वसचिव तनावमा थिए। उपाध्यायले दुई वर्षअघि माइती गाउँको भिडिओबाट स्क्रिन सर्ट लिएर 'गोरु खाने धराने' भन्दै पूर्णीमायाको फोटो फेसबुकमा हालेका थिए।

पूर्णिमायाका अनुसार दुई वर्षअघि तनहुँस्थित माइतीमा पुगेका बेला राँगाको मासु खाएको भिडिओ टिकटकमा हालिएको थियो।

तर रमाइलोका लागि हालेको उक्त भिडिओबाट फोटो काटेर अहिले धरानको गोरु खानेहरुसँग जोडेर आफ्नो बदनाम गरिएको उनले बताएकी छन्। उनले गोरुको मासु खाने धरानेहरुसँग आफ्नो कुनै सम्पर्क नरहेको पनि बताएकी थिइन्।

'२०२२ फेब्रुअरी २१ तारिखमा माइती गाउँमा भात खुवाई कार्यक्रम थियो', उनले भनेकी थिइन्, 'राँगाकोहड्डी भाइले ठूलो ल्याइदिएको थियो। दुई वर्षअघि मैले रमाइलोका लागि उक्त भिडिओटिकटकमा हालेको थिएँ। अहिले त्यही भिडिओको स्क्रिन सर्ट लिएर मेरो बदनाम गरियो। मैलै आजसम्म गोरुको मासु खाएको छैन।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .