ad ad

समाज


व्यवस्थापन पढेका विद्यार्थीलाई रोजगारी पाउनै मुस्किल

व्यवस्थापन पढेका विद्यार्थीलाई रोजगारी पाउनै मुस्किल

नेपालखबर
भदौ २८, २०८० बिहिबार १४:२५, काठमाडौँ

विज्ञहरुले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

उनीहरुले व्यवस्थापन संकायमा विद्यार्थी संख्या बढेपनि उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्न नसकेको बताएका हुन्।

विद्यार्थीलाई रोजगारसँग जोड्न उद्योगधन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्वन गनुपर्नेमा विज्ञहरुको जोड छ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लिराज शर्माले उत्पादित जनशक्तिले सजिलैसँग रोजगारी पाउन नसकेको बताए। शर्माले विद्यार्थीलाई रोजगारसँग जोड्न उद्योग धन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्वन गनुपर्ने बताए।

उनले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरेपनि दक्षताको अभिवृद्धि गर्ने अवसर नपाउँदा विद्यार्थीहरु विदेश पलायन हुन बाध्य भएको बताए।

उनले नेपालमा सञ्चालित उद्योगहरुमा समेत दक्ष र सीपयुक्त जनशक्तिले रोजगार पाउन नसक्नु बिडम्बनाको विषय भएको उल्लेख गरे। उनले शिक्षा व्यक्तिको व्यवसायिक मात्रै नभई व्यक्तिगत जीवनशैली र जीवनपद्यतीसँग पनि जोडिएकाले विद्यार्थीको आकर्षण व्यवस्थापन संकायमा बढेको बताए।

विश्वविद्यालयले इन्टर्नसिप वा व्यवहारिक रुपबाट शिक्षालाई जोड्नुपर्ने भएपनि अझै त्यसो हुन नसकेको बताए। विद्यार्थीको चाप धेरै भएपनि औद्योगीकरण (इन्डस्ट्रीलाईजेसन) र औद्योगिक प्रतिष्ठानहरुमा विद्यार्थीले पर्याप्त अवसर पाउन नसकेको गुनासो गरे। विद्यार्थीहरुलाई व्यवहारमुखी ज्ञान दिन आवश्यक रहेको उनको भनाई छ।

शर्माले भने, ‘जुन लेभलको इन्डस्ट्रीलाईजेसन हुनुपर्ने थियो, औद्योगिक प्रतिष्ठानहरुको विकास हुनुपर्ने, जुन किसिमको व्यवसायिक प्रतिष्ठानहरुको विकास हुनुपर्ने थियो, हाम्रा विद्यार्थीहरुले त्यहाँ त्यो अवसर पाउनुपर्ने हो। त्यो खालको अवसरपनि हामी कहाँ कमी छ।’

उनले व्यवस्थापन संकायमा अध्यापनरत शिक्षकहरुको उचित सेवा सुविधाका सन्दर्भमा सरकार गम्भिर नभएको बताए। शर्माले त्रिविले आँगिक क्याम्पसहरुमा पठनपाठन गर्ने शिक्षकहरुलाई तलव,भत्ताको सुविधा दिने गरेपनि बिबिए, बिबिएम, बिआईएम, बिएचएम लगायतमा अहिलेसम्म दरबन्दीको व्यवस्थापन नभएको बताए।

शर्माले व्यवस्थापन संकायका केही कार्यक्रमहरु सेल्फ सस्टेन्स प्रोग्रामको रुपमा सञ्चालन गरिएको हुनाले आँगिक क्याम्पसमै पनि शुल्क केही बढी भएको स्वीकार गरे।

उनले सम्पूर्ण भौतिक पूर्वाधारको विकास गर्नेदेखि शिक्षकहरुलाई दिनुपर्ने तलव, भत्ता सुविधा, विद्यार्थीको अतिरिक्त क्रियाकलापमा गर्नुपर्ने सम्पूर्ण खर्चहरु स्वयं कलेजले व्यहोर्नुपरेका कारण पनि शुल्क महँगो हुन गएको स्पष्ट पारे।

उनले व्यवस्थापन विषय रोजगारी, उत्पादन र उद्यमशीलतासँग जोडिएको बताए। अहिले त्रिविअन्तर्गत २ लाख बढी विद्यार्थीहरु व्यवस्थापन संकायमा अध्ययनरत छन्।

विद्यार्थीहरुले आफूले अध्ययन पूरा गरेपनि पर्याप्त रोजगारी र अवसर नपाएको गुनासो गरेका छन्।
(न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .