ad ad

समाज


‘सानो छ मान्छे, गाह्रो छ काम, धेरै छ पीडा, थोरै छ दाम’

‘सानो छ मान्छे, गाह्रो छ काम, धेरै छ पीडा, थोरै छ दाम’

नेपालखबर
भदौ २८, २०८० बिहिबार १४:४४, काठमाडौँ

‘सानो छ मान्छे गारो छ काम 
धेरै छ पीडा थोरै छ दाम 

न स्वस्थ छ काम न सिधाको घाम
न कहिले फुर्सद, न कहिले आराम’

बाल सल्लाहकार समिति सदस्य राम (परिवर्तित नाम) ले बालश्रमिक विपिन (परिवर्तित नाम) को दु:ख देखेर लेखेको कविता हो यो। उनलाई बालश्रमिकहरुले भोगिरहेका दुःख थाहा छन्। बालश्रम अपराध हो भन्ने पनि बुझेका छन्। त्यसैले उनी बाल सल्लाहाकार समितिमार्फत बालश्रमिकका विषयमा विभिन्न गोष्ठीमा आफ्ना कुरा राखिरहेका हुन्छन्। 

भनिन्छ- बालबालिका राष्ट्रिय गौरव हुन् तर कैयौँ बालबालिका दासतापूर्ण जीवन बाँचिरहेका छन्। कलिलै उमेरमा राम बालश्रमिक हुनु हुँदैन भन्ने कुराको लबिङ गर्दै हिँड्छन्। त्यसो त राम आफैँ पनि बालश्रमिक हुन्। उनी घरेलु कामदारका रुपमा काम गर्छन्। उनले भेटेका थुप्रै बालश्रमिकको भन्दा उनको कथा अलि फरक छ। त्यो फरक हो- उनी घरको कामसँगै स्कुलमा पढिरहेका पनि छन्। अरु थुप्रै कथा उनका पनि अरुका जस्तै हुन्।

उनलाई थाहा छ- बालश्रमिक बन्नु बनाउनु दुवै हुँदैन। तर, बालखैमा श्रम गर्नुपर्ने उनको आफ्नै बाध्यता छ। भन्छन्, ‘घरको अभाव र दुःखले मलाई श्रममा धकेलेको हो। मलाई लाग्न त लाग्छ- मजस्तो बालश्रमिक अरु बन्नु नपरोस्। तर, उनीहरुका पनि आफ्नै कथा छन्। आफ्नै अवस्था छन्। कतिपय साथीले आँखाभरि आँसु पारेर आफू शोषणमा परेको कथा सुनाएका छन्। ठूलो भएर बाश्रमिकको हकका निम्ति काम गर्ने रामको सपना छ।

सरोज (परिवर्तित नाम) को पनि रामलको जस्तै कथा छ। उनी पनि बालश्रमिक हुन्। घरको काम सकेर स्कुल जान्छन्। तर सबै बालश्रमिकले उनले झैँ विद्यालय जान पाएका छैनन्। सरोज बाल क्लबमा पनि बसेका छन्। बेलाबेला क्लबमार्फत बालश्रमिक सम्बन्धी कार्यक्रममा पुग्छन्।उनीहरुका अनुभव सुन्छन्। उनको मन भारी हुन्छ। उनी आफ्नै अवस्था हेर्छन्, साथीहरुका कुरा सुन्छन् र लेख्छन्- ‘कमलो माटो हौँ हामी बालबालिका।’

बलश्रमिक राखे पनि उनीहरुलाई जोखिम बाहिरका काम मात्रै लगाउनुपर्ने, श्रमको उचित पारिश्रमिक दिनुपर्ने उनको बुझाइ छ। तर, कतिपय बालश्रमिकले श्रमको मूल्य पाउनु त परको कुरा, राम्रो खानासमेत खान नपाउने गुनासो गरेको बताए। 

सरोजले कैयौँपटक साहुको गाली खाएका छन्। उनले कविताका हरफमा आफैँलाई यसरी प्रस्तुत गरेका छन्, ‘कुटपिटसँगै, गाली सधैँ किन सहनी? अझै कति चुपचाप रहने? सुन्दा सुन्दर लाग्दैनन् शब्द गालीका। हिलोझैँ मलिलो हामी बालबालिका।’ उनले आफ्नो कवितामा आक्रोश पनि पोखेका छन्।

बाल सल्लाहाकार समितिका सीता बस्नेत (परिवर्तित नाम) पनि बालश्रमिक हुन्। बिहानै उठ्छिन्, घरको काम सकेर स्कुल जान्छिन्। स्कुलबाट फर्किंदा उनलाई घरको काम गर्नै हतार हुन्छ। उनीसँग घरको गृहकार्य गर्ने समय हुँदैन।

सीतालाई बालबालिकाका लागि  बनाइएका कानुन राम्रोसँग थाहा छ। तर कानुनले आफूलाई समेट्न नसकेको उनको गुनासो छ। भन्छिन्, ‘ठूला मानिहरु मात्रै बसेर साना मानिसका लागि कानुन निर्माण गरिन्छ अनि कसरी हाम्रा समस्या समबोधन हुन्छन्?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .