त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासमा सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। मंगलबार फेरि सुनुवाइ हुनेछ।
सुनुवाइको पहिलो दिन चलाउनेका तर्फबाट र अभियुक्तका तर्फबाट केही कानुन व्यवसायीले बहस गरेका थिए। उनका तर्फबाट बहस गर्न २९ जनाले वकालतनामा पेस गरेका छन्।
चलाउनेमाथि ०७७ असोज २० गते नेविसंघका नेताहरूले सांघातिक आक्रमण गरेका थिए। योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रूपेश साह, रविनकुमार लामा, सयुज श्रेष्ठ र निरज रानामगरलगायतविरूद्ध ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाइएको छ।
कांग्रेससमेत सहभागी वर्तमान सरकारले मुद्दा फिर्ता लिने निर्णय गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् रोकिदिएको छ।
Shares
प्रतिक्रिया