ad ad

समाज


सेतो पुतलीबाट सावधान! चिकित्सक भन्छन्- आँखा रातो हुनासाथ अस्पताल आउनुहोला

सेतो पुतलीबाट सावधान! चिकित्सक भन्छन्- आँखा रातो हुनासाथ अस्पताल आउनुहोला

फाइल तस्बिर


रासस
असोज १४, २०८० आइतबार १४:४३, नारायणगढ (चितवन)

पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापु) रोगका बिरामी देखा पर्न थालेका छन्। 

भरतपुर आँखा अस्पतालमा १५ दिनमा ६ जना सापुका बिरामी जटिल अवस्थामा आएको अस्पतालका आँखारोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले बताइन्। केही समयअघि महामारीका रुपमा फैलिएको आँखा पाक्ने रोगसँग झुक्किएर सापु रोगका बिरामी अस्पताल उपचारका लागि समयमा नआउँदा यसमा जटिलता थपिएको उनको भनाइ छ। 

उनले भनिन्, ‘हामीकहाँ आउने बिरामी पाँच दिनदेखि नौ दिनको अन्तरालमा सापुका लक्षण बोकेर आउनुभएको छ।’

आँखा रातो भएको खण्डमा यसलाई सामान्य आँखा पाकेको भनी भर परेर नबस्न डा सुवेदीको आग्रह छ। उनले सापु रोग साना बालबालिकाका लागि अझ घातक हुनसक्ने भन्दै बच्चा चञ्चल हुने, सरसफाइमा ध्यान नदिने, बच्चालाई सरसफाइका बारेमा बुझाउन नसकिने र बच्चाले आफ्नो आँखाको समस्याबारे बताउन नसक्ने भएकाले सानो बच्चाको दृष्टि गुम्न सक्ने खतरा बढेको औँंल्याइन्। 

डा सुवेदीले अहिलेको समयमा अकारण दृष्टि गुमाउनबाट बच्न सापु रोगबारे जान्न अन्यन्तै आवश्यक भएको बताइन्। आँखा पाक्ने रोग लाग्दा आँखा रातो हुने, कचेरा लाग्ने भए पनि सुरुमै दृष्टिमा कमजोरी नआउने तर सापु रोगमा भने आँखामा कचेरा वा चिप्रा नलागी आँखा रातो हुने, दृष्टि कमजोर हुने, उज्यालोमा हेर्न गाह्रो हुने जस्ता लक्षण देखिने डा सुवेदीले जानकारी दिइन्। 

उनले भनिन्, ‘आँखा रातो भएपछि हामी सकेसम्म छिटो आँखा उपचार केन्द्रमा उपचार गर्न गइहाल्नुपर्छ, समयमै उपचार पाउन सकेमा सापु रोग लागेका धेरैजसो बिरामीको दृष्टि बचाउन सकिन्छ।’

सापु रोगबारे नेपाल सरकारले पनि जानकारीमूलक पर्चा निकालेको अवगत गराउँदै डा सुवेदीले त्यसमा उल्लेख भएका कुराको अवलम्बन गर्न अनुरोध गरिन्। 

प्रायः वर्षायामको भदौदेखि मङ्सिरसम्म यो रोग पाहडी भेगमा बढी देखिने भए पनि अहिले मौसमको परिवर्तनसँगै तराई भेगतिर पनि सर्दै गएको उनको भनाइ छ। हालसम्म सेतो पुतलीलाई सापुको कारक मानिएको भए पनि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीमा समेत यो रोग देखा परेको डा सुवेदी बताउँछिन्। 

अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको जानकारी दिँदै उनले भनिन्, ‘यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ, म आग्रह गर्दछु- हजुरहरुको आँखा रातो भएको छ भने तुरुन्तै आँखा उपचार केन्द्रमा आउनुहोला र दृष्टि बचाउने हाम्रो लक्ष्यमा सहयोग गर्नुहोला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .