ad ad

समाज


देशका अधिकांश स्थानमा बिहानैदेखि घाम, अब सुध्रिन लागेको हो मौसम?

देशका अधिकांश स्थानमा बिहानैदेखि घाम, अब सुध्रिन लागेको हो मौसम?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असोज १८, २०८० बिहिबार ८:५५, काठमाडौँ

काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आज (बिहीबार) बिहानैदेखि घाम लागिरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार कोशी प्रदेश र पहाडी क्षेत्रबाहेक यतिबेला देशभर मौसम सामान्यतया सफा छ। कोशी प्रदेश र देशका बाँकी पहाडी भेगमा भने मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहेको उनले बताए। 

‘आंशिक बदली भनेको बादल देखिए पनि घाम लागेको अवस्था हो भने सामान्य बदलीमा चाहिँ घाम देखिन अलि मुस्किल हुन्छ’, मौसमविद् झाले भने। 

तर अझै मनसुन (वर्षायामको मौसम प्रणाली) भने नेपालबाट बाहिरिइसकेको छैन। मौसम महाशाखाका अनुसार नेपालको मौसममा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ। 

‘उक्त न्यून चापीय क्षेत्रका कारण नेपालबाट मनसुन बाहिरिहाल्न सकेको छैन’, मौसमविद् झाले भने, ‘जे होस् आजबाट मौसम क्रमशः सुधारतर्फ उन्मुख भएको छ, हल्का वर्षा त हुन्छ तर २/३ दिनलाई भारी वर्षाको सम्भावना देखिएको छैन।’

पूर्वबाट प्रवेश गरी पश्चिमसम्म फैलिने मनसुन बाहिरिँदा पश्चिमबाट क्रमशः हट्न थाल्छ। 

‘अहिले पश्चिमतिर लगभग मौसम क्लियर भइसकेको छ’, उनले भने, ‘तर मध्य र पूर्वी क्षेत्रमा अझै केही दिन बदली र वर्षाको सम्भावना देखिएको छ।’

उनका अनुसार अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान गर्न सकिन्छ। ‘यस विषयमा तपाईंले चाँडै समाचार लेख्न पाउनुहुन्छ’, उनले भने।

मौसम महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम आंशिक बदली रहनेछ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। यस क्रममा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .