भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा मौसम बदली र हल्का वर्षा हुने क्रम जारी छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
मौसमविद्का अनुसार आंशिक बदली भनेको कतै कतै बादल लागे पनि घाम देखिएको अवस्था हो भने सामान्य बदलीमा चाहिँ घाम देख्न अलि मुस्किल हुन्छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।
यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार न्यून चापीय क्षेत्रको प्रभाव परिराखेकै कारण नेपालबाट मनसुन अझै बाहिरिन नसककेको हो। नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ नै थियो। तर यसमा ढिलाइ भइरहेको छ।
Shares
प्रतिक्रिया