इजरायलबाट स्वेदेश फर्किएका नेपाली विद्यार्थीले हमासको आक्रमणमा सँगैका साथी गुमाउँदा अत्यन्तै पीडा भइरहेको बताएका छन्।
गएराति नेपाल एयरलाइन्सको जहाजबाट त्रिभुवन विमान स्थलमा उत्रिएपछि उनीहरुले इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा चार दिनसम्म त्रासमा बस्दा भोगेको पीडा वर्णन गरे।
सिरहा घर भएकी विद्यार्थी शोभा पासवानले इजरायलमा सँगैका साथीलाई गुमाउँदा अत्यन्तै पीढा भइरहेको बताइन्।
रामपुर कृषि क्याम्पसकी विद्यार्थी पासवान सुदूरपश्चिम विश्वविद्यालयबाट सिक्दै कमाउँदै कार्यक्रमको लागि इजरायल गएकी थिइन्।
‘हमासको आक्रमणपछि आकाश पूरै कालो थियो, धुँवाले ढाकिएको थियो। आक्रमणबाट साथीहरु गुमाउँदाको पीढा छातीभरी छ,’ उनले भनिन्, ‘हामी त बाँचेर स्वदेश आउन पायौँ, तर सँगैका साथी गुमाउँदा जिन्दगीभर पीडा हुने भयो। ’
उनले चार दिनसम्म भोकैप्यासै बंकरभित्र बसेर ज्यान जोगाएको बताइन्। आक्रमणबाट साथीहरुको मृत्यु भएको थाहा पाउँदा बंकरभित्र मानसिक रुपमा निकै कमजोर बनेको भनाई छ।
‘सँगै गएको साथी राजेश स्वर्णकार र गणेश नेपालीलाई हामीले गुमायौँ, विपिन जोशी भन्ने साथी गायब छ। तपाईंहरुले उसको खोजी गरिदिनुहोला। इन्टरमेटहरु गुमाउँदा कति पीडा हुन्छ म भन्न सक्दिनँ।’
Shares
प्रतिक्रिया