‘आज राम्रो छ, भोलि यो काम गर्छु भनेर योजना बनायो। अर्को दिन उठ्नै नसक्ने हुन्छु,’ काठमाडौं मित्रपार्कको अम्बे अपार्टमेन्टको दैलोबाट भित्र पस्दै गर्दा अमृता लम्सालले आफ्नो अवस्था सुनाइन्।
अमृतालाई हिजोआज घरबाट बाहिर निस्कन मुस्किल छ। प्राणघातक क्यान्सरसँग जुधिरहेकी उनको सिर्जनशीलता भने उस्तै छ। भर्खरै उनको ‘मिडिया, महिला र म’ नामक पुस्तक बजारमा आएको छ।
तर, उनले सुरु गरिन्, पुरानो समयको चर्चाबाट।
घरहरुको सहर थिएन काठमाडौं। काठमाडौंको चुच्चेपाटीमा पहेँलपुर धान झुल्थे। गोठभरि बस्तुभाउ हुन्थे। मानिसहरु खेतबारीमा रमाउँथे। घर वरिपरि बगैँचा थियो। सिजन अनुसारका फलफूल फल्थे। अहिलेजस्तो काटनमा बन्द भएर आउने फलको आश गरिबस्नु पर्दैनथ्यो काठमाडौंले। बालबच्चाको हुर्काइ सुन्दर हुन्थ्यो। अमृताले त्यही स्वर्णिम समयमा आफ्नो बाल्यकाल गुजारेकी हुन्।
आफू हुर्किएको समय सम्झदै अमृता भन्छिन्, ‘त्यतिबेला काँठ क्षेत्र भन्थे। स्याल कराउँथ्यो। मानिसहरुलाई दुःख दिन्थ्यो। वर्षको एकपटक स्यालको पूजा गरिन्थ्यो। हिजोआज काठमाडौंबाट स्याल विस्थापित भए। कुटुम्बहालमा अहिले पनि स्यालको मूर्ति छ। मंसिरतिर अहिले पनि पूजा गरिन्छ।’
अमृताकी आमाले पाँच छोरी जन्माइन्। छोरा नभई वैतरणी तरिँदैन भन्ने मान्यता भएको त्यो समय उनकी आमाले छोरी मात्रै जन्माएको नाउँमा के–के भोग्नु पर्यो होला? आमाले आफ्नो भागको त्यो भोगाइ आफ्नै मनमा राखेकी छन्। अहिले पनि छोरीहरुसँग बाँडेकी छैनन्। उनकी हजुरआमाले भने अमृताका दिदी बहिनीलाई कहिल्यै सन्तान मानिनन्।
‘माया गर्नुहुन्थ्यो। तर, मुखैले भन्नुहुन्थ्यो, माइलो बाबुको त सन्तान छैनन्। उसलाई सम्पत्ति किन चाहियो भन्नुहुन्थ्यो। माया गर्नु र सन्तान मान्नु फरक रहेछ,’ अमृता सुनाउँछिन्।
यो घरभित्रको कुरा भयो। घरबाहिरका मान्छेले के भन्थे, त्यो अमृतालाई थाहा छैन। छोरीहरुले घरबाहिर निस्कने र समाजका कुरा सुन्ने, सिक्ने समय थिएन।
त्यो समय अमृताकी आमा स्कुल पढाउँथिन्। तर, अमृताले बेलैमा आमाको हात समातेर स्कुल जान पाइनन्। ९ वर्षकी भएपछि एकैपटक ६ कक्षामा भर्ना गरियो। अमृतालाई सबै विषय लाग्यो। ‘जग नभै घर कहाँ उभिदो रहेछ र!’ अमृताले सम्झना गरिन्।
बल्ल सुरु भएको अमृताको स्कुल यात्रा रोकियो। उनी दुई वर्ष घरमै बसिन्। खानेपानी संस्थानका कर्मचारी उनका बुबा साँझबिहान छोरी पढाउँथे। दुई वर्ष घरमा बुबासँग पढेपछि अमृता पुनः स्कुल भर्ना भइन्।
छोरीहरुले भविष्य सोचेर पढ्ने समय थिएन। छोरीहरु आफ्नै जिन्दगीको सपना बनाउँदैनथे। अमृताले पनि बनाइनन्। कलेज भर्ना भएकै साल उनको बिहे भयो। छोरी हुँदै सहज नभएको उनको पढाइ बुहारी भएपछि पूर्ण रुपमा रोकियो।
‘विद्रोह थाहा थिएन’
हिजोआज अमृतालाई सामाजिक सञ्जालमा पछ्याउनेहरुलाई लाग्न सक्छ, उनी सानैबाट विद्रोही स्वभावकी थिइन्। तर, होइन। उनलाई त विवाह अघिसम्म छोराछोरीबिचको फरक नै थाहा थिएन। हजुरआमाले सन्तान हैनन् भन्दैगर्दा अमृतालाई त्यो विभेद हो भन्ने लागेन। भन्छिन्, ‘विद्रोह गर्न पनि त विभेद थाहा हुनु पर्ने रहेछ।’
अन्यायले थिच्न थालेपछि पनि विद्रोह गर्न सजिलो थिएन। भन्छिन्, ‘हामी एउटा भकुण्डोमा बेस्मारी हावा भर्छौँ। अनि त्यसलाई थिच्छौँ। त्यो भकुण्डो जति थिच्यो त्यति माथि उफ्रन्छ। मेरो हकमा पनि भएको त्यही हो। किचिँदाकिचिँदा बोल्न पर्ने अवस्था आयो।’
अन्यायका विरुद्ध बोल्न थालेपछि अमृतालाई बुहार्तन अलि कम भएजस्तो लाग्यो। त्यसपछि उनले घरबाहिर निस्कने संकल्प गरिन्। त्यसपछि उनले नेपाल राष्ट्र बैंकमा जागिर खाइन्। २०४१ सालबाट।
जुन घरमा छोराहरु पनि घर बाहिर निस्कँदैनथे, त्यो घरबाट बाहिर निस्केर जागिर गर्नु अमृताको सहज बाटो थिएन। एउटी स्वास्नी मान्छेलाई मात्रै पनि बाहिर निस्कन बन्देज लगाउने समयले जमिनदारकी बुहारीले जागिर खाएको कहाँ देख्न सक्थ्यो। समाजले देख्न सकेन भनेर यात्रा बीचमै छोडेर हिड्न अमृता तयार थिइनन्।
उनलाई लाग्थ्यो, ‘हेर्न नसके समाजले आँखा चिम्लियोस्।’ प्रश्न त के मात्रै सामना गर्नु परेन! घरभित्रबाट सुरु भएको प्रश्न पिँढी, आँगन, बाटो हुँदै अफिससम्मै पुग्थ्यो।
‘प्रश्नहरुले नै त जन्माउने हो उत्तर। अप्ठ्यारो महसुस भएपछि न खोजिने रहेछ जिन्दगीको सहज बाटो,’ उनी भन्छिन्।
पैसाले दिने आत्मविश्वास
छोरीहरुलाई सहन सिकाइन्थ्यो। सिकाइको उल्टो बाटो हिँड्नु अमृताका लागि ठूलो चुनौतीको पहाड थियो। जागिर त खानैपर्छ भनेर घरबाट निस्किएको दिन सुन्नु परेका शब्दले घोच्न आज पनि छाडेको छैन। जागिर सुरु गरेपछि पनि अमृताको आत्मविश्वास त्यति बलियो भएको थिएन। जब पहिलो महिनाको तलब थापिन्, तब उनको आत्मविश्वास एकाएक बलियो बनेर गयो।
‘चेतनाले भन्दा बलियो आत्मविश्वास त स्वावलम्बनले दिने रहेछ भनेर त्यसपछि मात्रै बुझेकी हुँ,’ अमृताले सुनाइन्। आफ्ना लागि हात फैलाउन नपरेपछि मनको बल भरिएर आयो।
अमृता यसै विद्रोही भएकी होइनन्। स्वास्नी पिट्नु लोग्नेमान्छेको अधिकार हो भन्ने थियो। लोग्ने मान्छेलाई मात्रै होइन, छोरी मान्छेलाई पनि यही लाग्थ्यो। विवाह गरेर भित्रिएको दिन उनकी सासूले भनेकी थिइन्, ‘साथी नभै घरको कम्पाण्डबाट बाहिर ननिस्कनू। बाहिर निस्कँदा पनि खास्टो नओढी ननिस्कनू।’
त्यसपछि मिडियामा
घर र समाज जति असहज भए पनि काम गरेपछि अमृताको मन भने सहज भयो। यो सहज बाटो छोडेर अर्को असहज यात्रा सुरु गर्ने अमृताको सपना या रहर केही थिएन। तर २०४८ सालको एक बिहान उनकी बहिनीले पत्रकारिता पढ्ने रहर सुनाइन्। बहिनीलाई एक्लै घरबाट निस्कने छुट थिएन। अमृतालाई साथी गैदिन भनिन्। बहिनीको रहरका लागि पत्रकारिता पढ्न गएकी अमृताले त्यसपछि आफ्नो जीवनको बाटो नै परिवर्तन गरिन्।
२०४८ साल फागुनबाट कक्षा सुरु भएको थियो। त्यही वर्ष चैतबाट उनले पत्रिकामा लेख्न थालिन्। त्यतिबेला ‘पुनर्जागरण’ पत्रिकामा शरच्चन्द्र वस्ती काम गर्थे। उनै अमृताको कक्षामा भाषा पढाउन आए। अमृताले आँट गरेर भनिन्, ‘पत्रिकामा मलाई पनि लेख्न दिनु न।’ त्यसपछि सुरु भयो अमृताको लेखन यात्रा।
अमृताले जतिबेला लेख्न थालिन्, त्यतिबेला लेखनमा निकै कम महिला थिए। त्यसैले उनको लेखन चाँडै फैलियो। पीआर बन्दै गयो। पत्रिकामा काम गर्ने मानिसहरुसँगको चिनजान बाक्लिँदै गयो। अमृताले प्रायः सबैजसो पत्रिमा लेख्न थालिन्। अमृताको मन लेखनमै रमाउन थाल्यो। आफ्नो जमानाको लोकप्रियता सम्झिँदै अमृता भन्छिन्, ‘मानिसहरुले तपाईंलाई त पत्रिकामा पढेको थिएँ भनेर दिनको दुई पटकसम्म नमस्कार खाइन्थ्यो।’
लेख्न सुरु गर्दा अमृताले महिलाका विषयमा रिपोर्टिङ गर्छु भनेर सोचेकी थिइनन्। एकदिन दुर्गा घिमिरेसँग रिपोर्टिङकै क्रममा उनको भेट भयो। दुर्गाले त्यसपछि महिलाका कार्यक्रममा अमृतालाई बोलाउन थालिन्। महिलाका बारेमा लेख्नु पर्ने थुप्रै विषय भेट्न थालिन्। अमृताले पुनः आफ्नो बाटो फेरिन्। अनि महिलाका मुद्दामा लेख्न थालिन्।
महिलाका विषयमा लेखिएका समाचार वा स्टोरी केही पनि छपाउन सहज थिएन। पत्रिकाका सम्पादकहरु महिलाका विषयलाई विकल्पका रुपमा मात्रै प्रकाशन गर्थे। महिलाका मुद्दालाई ठाउँ माग्न थुप्रै सम्पादकसँग हात जोडेकी छन्। ‘महिलाहरु स्तरीय लेख्दैनन्, किन उनीहरुका विषयमा लेख्नु पर्यो भन्थे,’ अमृताले स्मरण गरिन्।
पछि अमृताले पैसा आउने राष्ट्रबैंकको जागिर छोडिन् र पैसा नआउने पत्रकारिता रोजिन्। उनी आज पनि महिलाका मुद्दामा लेखिरहेकी छिन्। यो यात्रामा अमृताले खेपेका संघर्षका कथा मात्रै होइन, थुप्रै उपकथा पनि जोडिएका छन्। यो यात्राका ती सबै कुरालाई अमृताले अक्षरमा उतारेकी छिन्। पछिल्लो पुस्तकमा तिनै कुरा समेटिएका छन्।
‘जीवनका थुप्रै कुरा यही किताबमा लेखेकी छु,’ उनी भन्छिन्।
Shares
प्रतिक्रिया