ad ad

समाज


मनसुन बाहिरिएसँगै सुरु भयो हिमपात

मनसुन बाहिरिएसँगै सुरु भयो हिमपात

फाइल फाेटाे


नेपालखबर
असोज २९, २०८० सोमबार ७:११, काठमाडौँ

देशभरबाट मनसुन बाहिरिएसँगै हिमाली तथा उच्च पहाडी भेगमा हिउँ पर्न सुरु भएको छ। 

मौसमविद्का अनुसार जेठ ३१ गते नेपाल भित्रिएको मनसुन आइतबार (असोज २८ गते) पूर्ण रूपमा बाहिरिएको हो।

मनसुन बाहिरिएपछिको सिजनलाई ‘पोस्ट मनसुन’ भनिन्छ। मौसमविद्का अनुसार पोस्ट मनसुन लागेपछि हिमाली तथा उच्च पहाडी भेगमा हिमपात हुन सुरु हुन्छ।

‘हिजो राति नै कतिपय स्थानमा हिमपात हुन सुरु भइसकेको छ’, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले सोमबार बिहान नेपालखबरसँग भनिन्। 

उनका अनुसार मनसुन बाहिरिएसँगै नेपालमा पश्चिमी वायुको प्रभाव सुरु भएको छ। पूर्वबाट भित्रिने भएकाले मनसुनलाई पूर्वी वायु भनिन्छ भने पश्चिमबाट भित्रिने अहिलेको वायुलाई पश्चिमी वायु भनिन्छ। 

मौसमविद्का अनुसार पश्चिमी वायुले चिसो बढाउँछ, वर्षा र हिमपात गराउँछ। तर पोस्ट मनसुनमा हिमपात धेरै हुँदैन। त्यसैले यो समयलाई पर्यटकीय मौसम पनि भनिन्छ। 

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

यस क्रममा दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि  मध्ययम वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। 

यसैबीच आज दिउँसो काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले जानकारी दिइन्। 

महाशाखाका अनुसार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

यस क्रममा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका ‍एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .