चितवनको इच्छाकामना गाउँपालिकामा श्रमदानबाट पुल निर्माण गरिएको छ। इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल गाउँपालिकाको लगानी र नागरिकको श्रमदानबाट निर्माण गरिएको हो।
पुल निर्माणका लागि ३० प्रतिशत श्रमदानमा काम गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए।
गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेपछि पालिकाले श्रमदानमा जुट्न स्थानीयलाई प्रोत्साहन गरेको थियो। श्रमदानमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दा सहभागी भएका थिए।
‘तीसदेखि ४० प्रतिशत श्रमदानबाट पुल निर्माणको काम गरेका छौँ,’ उनले भने, ‘प्राविधिक र निर्माण सामग्रीका लागि आवश्यक बजेट गाउँपालिकाले व्यवस्था गरेको छ।’
पुल निर्माणका लागि गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको थियो। निर्माण पूरा भएपछि दसैँका अवसरमा पुल सञ्चालनमा आएको छ।
‘पलिकामा सरसफाइ, कुलो निर्माण, विद्यालय र बाटोघाटो निर्माणमा पनि श्रमदान गरिएको छ’, अध्यक्ष गुरुङले भने, ‘यसले विकास निर्माणलाई पारदर्शी बनाउनेछ। जनसहभागिताका लागि नागरिक उत्साहित छन्।’
पालिकामा सबै विकास निर्माणका काममा श्रमदान गर्ने योजना रहेको र न्यूनतम १० प्रतिशत श्रमदान अनिवार्य गरिएको अध्यक्ष गुरुङले बताए।
गुरुङलेहरिपुर खोलामा राखिएको बेलीब्रिजको संरचना प्रयोग गरेर स्याङ्दी खोलमा पुल निर्माण गरिएको थियो। हरिपुर खोलामा अहिले पक्की पुल निर्माण गरिएको हो।
त्यतिबेला पनि बेलीब्रिज राख्नका लागि वडावासीले श्रमदान गरेका थिए। पुल निर्माणपछि गर्दास र स्याङ्दीका बासिन्दा लाभान्वित भएका छन्। पुल नहुँदा हरेक वर्ष स्याङ्दी खोलामा आउने बाढीका कारण विद्यालय जाने विद्यार्थी र स्थानीयले सास्ती खेप्दै आएका थिए। रासस
Shares
प्रतिक्रिया