ad ad

समाज


बर्दियामा आगलागी हुँदा ३ बालबालिकासहित चार जनाको मृत्यु

बर्दियामा आगलागी हुँदा ३ बालबालिकासहित चार जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०८० शनिबार ६:४२, काठमाडौँ

बर्दियाको गुलरियास्थित एक घरमा गएराति आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ। घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया- ४ तुलापुरमा रहेको भरत चन्दको घरमा शुक्रबार राति १० बजे आगलागी भएको हो। 

जिप्रका बर्दियाका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार मृत्यु हुनेमा भरत चन्दका ७ वर्षका छोरा कृष चन्द, २ वर्षका छोरा कार्तिक चन्द, भरतकी दिदी ३६ वर्षकी राधा बुढा र उनकी ११ वर्षकी छोरी मानुषी बुढा छन्।

राधा छोरीलाई लिएर भाइको घरमा पाहुना लाग्न जाँदा घटना भएको प्रहरीले जनाएको छ।

आगलागीमा परेर भरतकी पत्नी २८ वर्षकी करिष्मा चन्द गम्भीर घाइते भएकी छन्। उनको गुलरिया असप्तामाल उपचार भइरहेको एसपी शाहीले जानकारी दिए। 

‘आगलागी कसरी भयो, खुलेको छैन,’ एसपी शाहीले शनिबार बिहान नेपालखबरसँग भने, ‘घटनाको विषयमा हामी थप अनुसन्धान गरिहरका छौँ। आगलागीमा परेको घर एकान्त ठाउँमा छ।’

एसपी शाहीका अनुसार घटना हुँदा घरमुली भरत भने घरमा थिएनन्। उनी रोजगारीको लागि बाँकेको कोहलपुरमा बस्ने गरेका आफन्तले बताएका छन्। 

आगलागीमा परेका सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक चारै जनाको शव अहिले पनि घटनास्थलमै रहेको एसपी शाहीले जानकारी दिए। 

राति सुतेको बेला घरमा आगो सल्किएको हो। विजुली सर्ट भएर आगो सल्किएको हो कि बालिएको आगोबाट आगलागी भएको हो खुलिनसकेको एसपी शाहीले बताए।  

आगलागीबाट एउटा कोठा पूर्णरुपमा जले पनि घर जलेको छैन। घटनाको थप अनुसन्धान सुरु गरिएको एसपी शाहीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .