भारतको उत्तराखण्डस्थित पिथौरागढको वड्डामा भारतीय महिलाको हत्या घटनामा नेपाली युवक पनि मुछिएका छन्।
सुवाकोटकी ६५ वर्षीया माधवीदेवी चिलकोटीको हत्या घटनामा नेपाली युवक भारतीय प्रहरीको अनुसन्धानमा तानिएका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ती महिलाको शव आइतबार बिहान कोठामा भेटिएको थियो। उनको घाँटी थिचेर हत्या गरिएको आशंका छ।
ती महिला परिवारसँग भारतको राजधानी दिल्लीमा बस्थिन्। केही दिनअघि मात्रै उनी पिथौरागढ आएको खुलेको छ।
भारतीय प्रहरीका अनुसार मृतक महिलाको पिढौरागढमा पनि घर छ। पिढौरागढको घर उनले मजदुरहरुलाई भाडामा दिएकी छन्।
दिल्लीबाट फर्केपछि उनी त्यहीँ घरमै बस्थिन्।
आइतबार बिहान काम गर्ने महिलाले उनी बस्ने कोठाको ढोका फुटेको देखेकी थिइन्। भित्र वृद्धा मृत अवस्थामा भेटिइन्।
घटनाबारे प्रहरीलाई खबर गरेपछि भारतको स्थानीय वड्डा चौकी र जाजरदेवल प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगेका थिए।
वृद्ध महिलाको हत्या गर्नुको कारण खुलेको छैन।
अनुसन्धानका लागि प्रहरीको विशेष टोली खटिएको छ।
माधवीदेवी दोस्रो तलामा बस्थिन्। आइतबार बिहान काम गर्ने महिला त्यहाँ पुग्दा माधवीदेवीको ढोका फुटेको थियो।
प्रहरीले मृतकको घरमा भाडामा बस्ने मजदुरसँग सोधपुछ गरिरहेको छ। घरको सीसीटीभी फुटेज पनि सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
सीसीटीभी फुटेजमा भाडामा बस्ने एक नेपाली युवक देखिएकाले उनबारे पनि अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।
ती नेपाली युवकको पहिचान खुलाइएको छैन।
‘अनुसन्धानका क्रममा सीसीटीभी फुटेजमा एक नेपाली युवा देखिएका छन्’, पिढौरागढ प्रहरीका एसपी लोकेश्वर सिंहको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्, ‘यस विषयमा अनुसन्धान भइरहेको छ, घटनाको छिट्टै खुलासा हुनेछ।’
Shares
प्रतिक्रिया