हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज (मंगलबार) हल्का वर्षाको सम्भावना छ। त्यस्तै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।
मौसमविद् लामिछानेले आज रातिबाट मौसम विस्तारै सुधार हुँदै जाने बताए। लामिछाने भन्छन्, ‘यो मौसमी प्रणाली आजको लागि हो, रातिदेखि सुधार हुँदै जाने देखिन्छ। देशको पाहडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा नै रहने देखिन्छ। उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।’
सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा बिहान सामान्य बदली रहे पनि अहिले काठमाडौँको आकाश खुलेको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, आइतबारदेखि मौसम बदली भएपछि चिसो बढ्न थालेको छ। देशैभर यस्तो महसुस गर्न थालिएको हो। सुदूरपश्चिमको बाजुरामा यसको असर नै देखापर्न थालेको छ। जिल्ला अस्पताल बाजुराका अनुसार चिसो बढेसँगै यहाँ बिरामी बढ्न थालेका छन्।
अस्पतालमा दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए।
चिसो बढेसँगै जिल्लाको पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकामा बसोबास गर्ने मानिस भेडाच्याङ्ग्रासहित स-परिवार बेँसीतिर झरेका छन्।
उनीहरू चिसो समयमा जिल्लाको ब्रह्मतोला, कुल्देवमाडौँ, बाह्रविस, अछाम, डोटी र सुर्खेतलगायतका जिल्लामा जाने गर्दछन्।
लगातार दुई दिनसम्म घाम नलागेपछि चिसो ह्वात्तै बढेको हो। जल तथा मौसम विज्ञानका अनुसार अझै केही दिन सुदूरपश्चिम प्रदेशलगायतका ठाउँमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। रासस
Shares
प्रतिक्रिया