यही मंसिर २१ गते १४ किलो सुनसहित पक्राउ परेका गोरखाका चन्द्र घले प्रकरणमा त्रिभुवन विमानस्थलमा कार्यरत एकजना सरसफाइ सुपरभाइजर पक्राउ परेकी छन्।
१४ किलो सुन बरामद प्रकरणको छानबिन अघि बढेसँगै सुपरभाइजर सुशीला पाण्डेलाई बुधबार भक्तपुरबाट पक्राउ गरिएको हो। उनलाई उक्त सुन प्रकरण अनुसन्धानको जिम्मा पाएको भन्सार कार्यालयको छानबिन टोलिले पक्राउ गरेको हो।
दुबईबाट आएका गोरखाका चन्द्र घलेले ज्याकेटमा लुकाएर ल्याएको १४ किलो सुन प्रकरणमा विमानस्थल भन्सारका कर्मचारीको मिलेमतो आशंका गरिएको छ।
घलेले उक्त सुन अध्यागमनको वाक थ्रु गेट नपुगी शौचालयमा राख्ने योजना बनाएको खुलेको छ। त्यसपछि सरसफाइ कर्मचारीमार्फत विमानस्थलबाट बाहिर लैजाने तयारी रहेको अनुसन्धानबाट खुलेको छ।
उक्त सुन प्रकरणको अनुसन्धान गर्न विमानस्थलका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति बनेको छ।
Shares
प्रतिक्रिया