ad ad

समाज


भक्तपुरमा ६१ वर्षको उमेरमा विवाह गरेका पुरुष पत्नी हत्या आरोपमा पक्राउ

भक्तपुरमा ६१ वर्षको उमेरमा विवाह गरेका पुरुष पत्नी हत्या आरोपमा पक्राउ

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार ५:३३, भक्तपुर

चौध महिना अगाडि (२०७९ असोज १९ गते बुधबार विजयादशमीका दिन) ४३ वर्षीया मायादेवी शाक्यलाई विवाह भएको १४ महिनामै जीवनको अन्त्य होला भन्ने के थाहा थियो र? 

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सृजनानगर बस्दैआएकी एकल महिला शाक्य र सोही वडाको कटुञ्जे बस्ने एकल पुरुष ६१ वर्षीय दानकाजी शाक्यबीच बुढेसकालको साहारा बन्ने सङ्कल्पसहित उनीहरुबीच विवाह भएको थियो। 

बुढेसकालको साहारा बन्ने अपेक्षा गरेकी मायादेवीको शव पाँचदिनदेखि काठमाडौं मेडिकल कलेजको भक्तपुर दुबाकोटस्थित शवगृहमा राखिएको छ भने उनका पति दानकाजी विगत चारदिनदेखि जगातीस्थित प्रहरी बृत्तको हिरासतमा छन्। 

मृतक शाक्यका बाबु भक्तबहादुर र आमा यतिखेर छोरीको शवसमेत बुझ्न नपाउँदा पीडित भएका छन् भने पति शाक्यलाई यतिखेर पत्नी हत्याको अभियोग लागेको छ। 

गत आइतबार राति खाना खाएरसँंगै सुतेकी मायादेवी बिहान ओछ्यानमै मृत्यु फेला परेकी थिइन्। सँगै सुतेकी श्रीमतीको राति कतिबजे र कसरी मृत्यु भयो आफूलाई थाहा नभएको र बिहान उठ्दा मात्र मृत्यु भइरहेको अवस्थामा आफूले पाएको दानकाजीको जिकिर छ। 

सोमबार बिहान ५ बजे दानकाजीले आफूलाई घट्नाबारे जानकारी गराए पनि खाना खाएर सँंगै सुतेकी छोरीको मृत्यु स्वभाविक नभइ हत्या भएको भक्तबहादुर बताउँछन्। 

सँगै सुतेकी श्रीमतीको मृत्यु भएको थाहै नपाउने भन्ने हुदैन,  यति मात्र होइन शरीरमा निलडाम देखिएको र मुखमा घाउ भएकाले पनि घटना भवितव्य नभइ हत्या नै भएको भक्तबहादुर बताउँछन्। 

मृतकका बहिनीज्वाइँ कृष्ण गोसाईंले शव परीक्षण रिपोर्टअनुसार बेलुकाको खाना नै नपचेको अवस्थामा उनको मृत्यु भएको देखाइएकाले राति १० देखि ११ बजेभित्रै हत्या भएको आशङ्का भएकोे बताउँछन्।

‘हामीले पोष्टमार्टम गर्ने चिकित्सकसँग पनि भेटेर कुरा गर्‍यौं, रिपोर्ट पनि हेर्‍यौं, चिकित्सकले नै स्वाभाविक मृत्यु नभएको र शङ्कास्पद रहेको भन्नुभएको छ, हामी न्याय चाहन्छौं प्रहरीले निष्पक्ष छानबिन गरेर हत्यारा सार्वजनिक नगरेसम्म शव उठाउदैनौं,’ उनले भने।

मृतकको दाहिने हातको कुममा, दुबै छातीमा, गलामा, खुट्टामा पिठ्युमा निलडाम रहेको, छाला लछारिएको, मुखभित्र घाउ रहेको, रगत जमेको पाइएको र शव परीक्षण गर्ने चिकित्सकले निसास्सिएर मृत्यु भएको हो, मृत्यु स्वभाविक होइन, शङ्कास्पद छ भनेको अवस्थामा शव बुझ्न नसकिने उनी बताउँछन्।

भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठक घट्ना शङ्कास्पद रहेको बताए।

‘घटना शङ्कास्पद भएकाले मृतकको पतिलाई हामीले चारदिनदेखि नियन्त्रणमा लिएर म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

मृतकको माइतीपक्षले भने घट्नाको वास्तबिकता बाहिर ल्याएर हत्यामा संलग्नलाई कारबाही अगाडि नबढाएसम्म शव नबुझ्ने बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .