ad ad

समाज


मीन र चन्द्र घलेले मात्रै त्रिभुवन विमानस्थलबाट भित्र्याएका थिए १३८ किलो सुन

भन्सारबाट छिरेको १४ किलो मात्रै बरामद
मीन र चन्द्र घलेले मात्रै त्रिभुवन विमानस्थलबाट भित्र्याएका थिए १३८ किलो सुन

फाइल तस्बिर


नेपालखबर
पुस ८, २०८० आइतबार १४:३०, काठमाडौँ

गत मंसिर २१ गते राति दुबई हुँदै आएका गोरखाका चन्द्र घलेबाट बरामद १४ किलो सुन प्रकरणपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बनाएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। 

प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले आइतबार पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वनजिक गरेको हो।

समितिले आफ्नो प्रतिवेदनमा गोरखाका मिनबहादुर घलेले दुबईमा अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गर्न सेटिङ मिलाउने गरेको देखिएको जनाएको छ।

मीनबहादुर स्वयम् तथा १४ किलो सुनसहित समातिएका चन्द्र घले र कृष्णकुमार श्रेष्ठ समेतले पटक-पटक दुबईबाट सुन लिएर आउने गरेको अनुसन्धानबाट खुलेको प्रतिवेदनमा उल्लेख छ।

घलेले एयरपोर्टको सेटिङ मिलाउन डिवी भन्ने दानबहादुर गुरुङलाई प्रयोग गरेको देखिएको समितिले निष्कर्ष निकालेको छ।

मीनबहादुर घले, चन्द्र घले र कृष्णकुमार श्रेष्ठले पटकपटक गरेर १३८ किलो सुन विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेको पनि समितिले जनाएको छ। तर पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ किलो मात्रै सुन बरामद भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।

एयरपोर्टबाट सुन बाहिर निकाल्न त्यहाँ कार्यरत नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखाका सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत समेतले भूमिका खेलेको प्रतिवेदनले ठहर गरेको छ।

भरियाले ल्याएको सुन एयरपोर्टबाट बाहिर निकालिसकेपछि रमेश देउला, राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले काठमाडौंको टोखा नगरपालिका बानियाँटारस्थित सूर्यदर्शन हाइटमा रहेको डिवी गुरुङको घरमा पुर्‍याउने गरेको पनि निष्कर्ष समितिले निकालेको छ।

उक्त सुन मीनबहादुर घले र उनका साथी जोन भन्ने जीवन गुरुङले अंकित अग्रवालले भनेको स्थानमा लगिदिएर भरियाको काम गरेको पनि समितिले पत्ता लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .