ad ad

समाज


रविमाथि खोया हान्नेलाई ‘प्रहरीमाथिको अभद्र व्यवहार’मा मुद्दा

रविको आदेश अलपत्र
रविमाथि खोया हान्नेलाई ‘प्रहरीमाथिको अभद्र व्यवहार’मा मुद्दा

नेपालखबर
पुस ८, २०८० आइतबार २०:३७, पोखरा

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेमाथि मकैको खोया प्रहार गर्ने सन्तोष रानाभाटमाथि प्रहरीमाथि अपशब्द बोलेको अभियोग लगाएको छ।

कास्की प्रहरीले शनिबार पोखराको अमरसिंहचोकमा भएको आमसभामा लमजुङको राइनास स्थायी घर भइ पोखरा बस्ने ३७ वर्षीय सन्तोष रानाभाटलाई मकैको खोया प्रहार गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि अपशब्द प्रयोग गरी हातपातसमेत गर्न खोजेको जिकिर गरेको छ।

‘रवि लामिछाने मञ्चमा बोल्दै गरेको अवस्थामा जिल्ला लमजुङ राईनास नगरपालिका ८ बस्ने वर्ष ३३ को सन्तोष रानाभाटले मकैको खोयाले मञ्चतर्फ फाली भाग्न खोजेको अवस्थामा कार्यक्रम स्थलमा खटिएको प्रहरीले पक्राउ गरी सोधपुछ तथा सम्झाई बुझाई गर्ने क्रममा उल्टै डिउटीमा रहेको प्रहरीलाई अपशव्द प्रयोग गरी गालिगलौज एवं हातपात समेत गर्ने प्रयास गरी डिउटीमा अवरोध पुर्याइ अभद्र व्यवहार गरेको भन्ने तत्काल खटिएको प्रहरीको प्रतिवेदनको आधारमा निजलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत अभद्र व्यवहार गर्न नहुने कसूरमा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ,’ कास्की प्रहरी प्रवक्ताको नाममा जारी विज्ञप्तिमा भनिएको छ।

यसअघि प्रहरीले अभियुक्त करार सन्तोषले जानाजान खोया प्रहार नगरेको प्रारम्भिक बयान दिएको जनाएको थियो। रविमाथि खोया प्रहार भएसँगै समर्थकहरु सन्तोषमाथि खनिएका थिए। प्रहरीले बल्लतल्ल उनलाई बचाएर भीडबाट बाहिर निकालेको थियो।

घटनापछि सोही मञ्चबाट बोल्दै रास्वपा अध्यक्ष रविले उत्तेजित भीडलाई शान्त बनाउने क्रममा उनले मञ्चमा आइपुगेको मकैको खोया फाल्ने व्यक्तिले गलत नगरेको र उनलाई ससम्मान घर छाड्न भनेका थिए।

‘उहाँले सही काम गर्नुभएको हो, कुनै गलत काम गर्नुभएको हैन। मलाई गर्दा सही र अर्कालाई गर्दा गलत भन्ने होइन,’उनले भनेका थिए,‘ उहाँलाई आज मलाई दिइएको फूलमध्ये सबैभन्दा मगमग्गाउँदो र सबैभन्दा राम्रो फूल दिएर  घर पठाइदिनुहोला। पूर्वउपप्रधान तथा गृहमन्त्री भएको नाताले आदेश दिँदैछु, ती साथीलाई ससम्मान फूलको माला लगाएर घर पठाइदिनुहोला। न कुनै ल्याप्चे, न कुनै मुद्दा।’

उनले खोया प्रहार गर्ने व्यक्तिप्रति कुनै प्रतिशोध र पूर्वाग्रह नभएको बताउँदै अगाडि भनेका थिए, ‘यही हो, नेपाली जनताले आफूले आशा गरे अनुरुप काम पाएनन् भने जनताले विद्रोह गर्छन्। आक्रोश गर्छन्, कोही बोलेर, कसैले यसरी। जसरी गरे पनि स्वीकार गर्न सक्नुपर्छ। उनले जस्तो जाने उस्तै गरे। एउटा निरीह मान्छेमाथि यतिधेरै मान्छे जाइलाग्नु हुँदैन। यो अभिव्यक्ति हो, यो एउटा सिम्बोल हो।’

प्रहरी हिरासतमा रहेका सन्तोषविरुद्ध कसैले जाहेरी पनि दिएको छैन। कास्की प्रहरीले पक्राउको क्रममा ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धानको लागि भन्दै म्याद थप गरेपछि पूर्वउपप्रधान तथा गृहमन्त्री रविको आदेश तत्काल कार्यान्वयनमा नआउने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .