ad ad

समाज


खोलो नै सुकाइदिएपछि स्थानीयले बन्द गरिदिए सुपरमाई हाइड्रोको उत्पादन

खोलो नै सुकाइदिएपछि स्थानीयले बन्द गरिदिए सुपरमाई हाइड्रोको उत्पादन

नेपालखबर
पुस १०, २०८० मंगलबार १६:५३, काठमाडौँ

इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयबासीले बन्द गरिदिएका छन्।

हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र आफूहरूको माग सम्बोधन नगरेको भन्दै स्थानीयले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन्। 

इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा हाइड्रोपावर सञ्चालित छ।

स्थानीयले खोलाको पानी हाइड्रोमा जान नदिई बगरमा कटाइदिएको स्थानीय हरि भण्डारीले जानकारी दिए।

उक्त हाइड्रोपावरले माईजोगमाई–५ सोताङमा ३० घण्टा सडक मर्मतका लागि स्काभेटर उपलब्ध गराउने भन्दै स्थानीयलाई पटकपटक झुक्याएकाले हाइड्रोको उत्पादन बन्द गर्नुपरेको उनले बताए। 'खोलामा छोड्नुपर्ने २० प्रतिशत पानीसमेत उनीहरूले छोडेका छैनन्,'  भण्डारीले भने।

सुरुमा स्थानीयवासीले माग गरेको ३० घण्टा सडक मर्मतका लागि स्काभेटर दिने भनिएको र वडाबाट सिफारिस लिएर आउन आग्रह भएको थियो।

माईजोगमाई गाउँपालिका–५ वडा कार्यालयको सिफारिससहित जाँदा स्काभेटर उपलब्ध नगराएपछि उत्पादन बन्द गराउनु परेको स्थानीयले बताएका छन्।

सबै पानी खोलातर्फ लगाइदिएपछि उत्पादन पूर्ण रूपमा बन्द भएको छ। माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्थानीयको भनाइ छ।

हाइड्रो सञ्चालकले स्थानीयका माग पूरा नगर्ने, पूरा गर्ने भनेर झुक्याउने गरेपछि उत्पादन बन्द गरिदिएको स्थानीयको भनाइ छ।

सोमबार राति ११ बजेदेखि नै हाइड्रोतर्फ गएको पानी खोलातर्फ कटाइएको छ।

हाइड्रोका प्रमुख कार्यकारी अधिकृत दिनेश बर्तौलाले स्थानीयका माग पूरा गर्ने भन्दाभन्दै उत्पादन बन्द गरिदिएको बताए।

उनले हाइड्रोको गेटसमेत बन्द गरेको जानकारी दिए। स्थानीयवासीले पटक-पटक माग बढाउने गरेको उनको भनाइ छ।

पछिल्लो समय शेयर लगानीमार्फत ५० हजार बढी सञ्चालक रहेको हाइड्रोको एकल निर्णय गर्न नपाइने भएकाले माग पूरा गर्न समय लागेको हाइड्रोले जनाएको छ।

उत्पादन बन्द भएपछि हाइड्रोले दैनिक पाँच लाख बढी घाटा बेहोर्नुपर्छ। हाइड्रोपावर सात दशमलव आठ मेघावाट क्षमताको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .