नेपाली सेनाका उपरथी निर्मलकुमार थापा रथीमा बढुवाका लागि सिफारिस भएका छन्।
नेपाली सेनाको बढुवा सिफारिस समितिले बुधबार बेलुका उनलाई बढुवा सिफारिस गर्ने निर्णय गर्दै ७ दिने सूचना जारी गरेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए।
रथी सिताराम खड्का अनिवार्य अवकासमा गएपछि रिक्त भएको पदमा थापालाई बढुवा गर्न लागिएको हो। उपरथी थापा हाल राष्ट्रसंघीय शान्ति मिसन सिरियामा फोर्स कमाण्डरको रुपमा कार्यरत छन्।
थापाविरुद्ध कुनै दाबी विरोध वा उजरी भए बढुवा समितिमा ७ दिन भित्रमा दिन भनिएको छ। नेपाली सेनामा दुई जना रथीको दरबन्दी छ।
यसअघि अशोकराज सिग्देल बढुवा भएका थिए। सिग्देल र हाल बढुवा सिफारिस भएका थापा मध्येबाट आगामी भदौदेखि नेपाली सेनाको कमाण्ड गर्ने छन्।
सिग्देल सिनियर भएकाले उनी नै प्रधानसेनापति बन्ने सम्भावना बढी छ। हालका प्रधानसेनापति प्रभुराम शर्मा आगामी भदौ २४ गते कार्यकाल पूरा गरेर अवकास हुनेछन्।
Shares
प्रतिक्रिया