मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड दुई महिना बन्द हुने भएको छ।
सडकको स्तरोन्नति गर्नुपर्ने भएकाले आजदेखि दुई महिनाका लागि सडक बन्द गर्न लागिएको हो।
कुलेखानी–हुमाने–फाखेल खण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले आजदेखि आगामी फागुन १५ गतेसम्मका यातायात आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका कार्यालयले जनाएको छ।
उक्त खण्ड बन्द हुँदा वैकल्पिक सडकको व्यवस्था गरिएको छ।
यातायातका साधनका लागि हेटौँडा भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौँको थानकोट पुग्न सकिने गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईँले जानकारी दिए।
भोलि बिहानदेखि वैकल्पिक मार्गका रुपमा हेटौँडाबाट आउने हल्का सवारी साधन उक्त खण्डमा सञ्चालन हुनेछन्।
वैकल्पिक सडकका रुपमा काठमाडौँको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौँडातर्फ आउने सवारी साधनलाई पनि सञ्चालनमा ल्याइने गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए।
Shares
प्रतिक्रिया