गत असार ३ गते। मुगुको सोरु गाउँपालिका–९, खनायाँस्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी (अनमी) तुलसा विश्वकर्मा काम विशेषले गाउँपालिका कार्यालय पुगिन्।
संयोगले त्यस दिन गाउँपालिकाकै एकजना कर्मचारीसमेत रहेका होटल व्यवसायीको छोराको जन्मोत्सव (बर्थडे) रहेछ।
दाङ (माइती घर) बाट जागिरका लागि पहिलोपटक मुगु पुग्दा तुलसा उनकै होटलमा बसेकी थिइन्।
त्यसैले स्वाभाविक रूपमा तुलसालाई पनि बर्थडे पार्टीमा निम्त्याइयो।
त्यहाँ गाउँपालिकाका अन्य कर्मचारीसहित शिक्षा शाखा अधिकृत वीरेन्द्र मल्ल पनि थिए। होटल सञ्चालकका छोरालाई जन्मदिनको शुभकामना दिँदै टीका लगाइसकेपछि तुलसालाई खानपिनमा बोलाइयो।
यस क्रममा उनले खाने जुसमा कसैले झुक्याएर रक्सी मिसाइदिएको रहेछ। तुलसालाई थाहै भएन। खानासँगै जुस पनि पिइन्।
तुलसाका अनुसार, मदिरा कहिल्यै मुखमा नहालेकी उनलाई मात लाग्यो। त्यही मौकामा शिक्षा शाखा अधिकृत मल्लले उनको भिडिओ खिचेछन्।
यो कुरा भोलिपल्ट सहकर्मीले आफ्ना मोबाइलमा देखाएपछि मात्र तुलसाले थाहा पाइन्।
‘रक्सी पिएको तालमा’ क्याप्सन लेखेर उहाँले हेल्थ पोस्टका स्टाफहरूलाई त्यो भिडिओ म्यासेन्जरमा पठाउनुभएको रहेछ’, उनले नेपालखबरलाई सुनाइन्’, त्यत्रो पदमा पुगेको मान्छे! आफैँ झुक्याएर रक्सी खुवाउने, अनि भिडिओ पनि बनाएर मेरो बदनाम गराउने!’
त्यही दिनदेखि शिक्षा अधिकृत वीरेन्द्रबाट आफूविरुद्ध यौन हिंसाको सिलसिला सुरु भएको उनी बताउँछिन्।
‘पालिकाको हाकिम भएपछि मेरो नम्बर पत्ता लगाउन कुनै गाह्रो भएन’, उनी भन्छिन्, ‘त्यसपछि मलाई हरेक दिन राति-राति उहाँको फोन आउन थाल्यो।’
स्वास्थ्यकर्मी भएकाले कोही बिरामी पो परे कि भनेर तुलसाले सुरुमा दुई/तीनपटक उनको फोन उठाइन्। तर नियत बुझेपछि फोन उठाउन छाडिन्। र, पनि मल्लले फोन गर्न छाडेनन्।
‘इग्नोर गरेपछि त बुझ्नपर्छ नि! तर त्यहाँ ठकुरी शासन हो के! इग्नोर गर्दा पनि नहुने, ‘भनेको’ हुनैपर्यो,’ उनले भनिन्, ‘पावर, पद र जातको घमण्ड!’
उनका अनुसार, अलिक टाढा रहेको गाउँपालिकाको कार्यालयमा काम गर्ने वीरेन्द्रको घर भने खनायाँमै हो। त्यो पनि तुलसा बस्ने कोठाभन्दा ठीक माथि।
‘गाउँपालिकामा भएका बेला होइन, घर आएका बेला मलाई फोन गर्नुहुन्थ्यो। राति १०/११ बजे फोन गरेर तपाईं कहाँ हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? तपाईंसँग भेट्न मन छ, कोठामा आऊँ? यस्तो, यस्तो कुरा गर्ने’, तुलसा पीडा सुनाउँछिन्, ‘मलाई मेन्टल ह्यारेसमेन्ट धेरै गरियो। रातिको समय कसैको फोन आयो कि डर लाग्ने भयो।’
पीडा खप्नै नसकेपछि तुलसाले पालिकाका स्वास्थ्य शाखा प्रमुख चरित्र धामीलाई फोन गरेर समस्या सुनाएर अन्यत्र काज मिलाइदिन अनुरोध गरिन्।
‘मान्छे किटेरचाहिँ भनिनँ। किनभने नाम तोकेर भनेको भए उहाँ पनि वीरेन्द्रकै पक्षमा लाग्ने निश्चित थियो। त्यही भएर मैले कसैको नाम नलिई रातिराति यौन आशयका फोन आउँछन्, जातका कारण बसेको कोठाबाट पनि दिनदिनै हट्न दबाब दिइरहेका छन्, मलाई अर्कै ठाउँमा काज मिलाइदिनपर्यो भनेँ’, उनी सुनाउँछिन्।
जवाफमा स्वास्थ्य शाखा प्रमुख धामीले भने, ‘ठीकै छ, हामी मिलाउँला। कार्यपालिकाको बैठक बसेपछि म कुरा राख्छु।’
तुलसाले आज होला कि, भोलि होला कि भन्दाभन्दै दुई महिना बिते। तर, उनको समस्याको कुनै सुनुवाइ भएन।
००००
गत वैशाखमा तुलसा बिदामा आफ्नो घर दाङ आएका बेला घरधनी झापु शाहीको फोन आयो, ‘तिमी त पानी नचल्ने जातकी रहिछौ नानी! पहिला थाहा भएन। अब कोठा सार्नुपर्यो। गाउँमा हामीलाई समस्या पर्न लाग्यो।’
तुलसा आफ्नै स्वास्थ्य चाैकीका इन्चार्ज सुरजकुमार शाहीको घरमा कोठा भाडामा लिएर बसेकी थिइन्। झापु उनकै आमा हुन्।
एक्कासि यस्तो फोन आएपछि तुलसा छक्क परिन् र तुरुन्तै स्वास्थ्य इन्चार्ज सुरजलाई फोन लगाइन्। स्वास्थ्य चौकीको भवन निर्माणको ठेक्का पनि उनैले लिएका छन्।
तुलसाले भनिन्, ‘हजुरको आमाले मलाई जातीय विभेद गर्नुभयो। अबदेखि मलाई घरमा नराख्ने भन्नुभयो। त्यसैले क्वार्टर (स्वास्थ्य चौकीको भवन) छिटो बनाइदिनुपर्यो। अब म क्वार्टर नबन्दासम्म आउँदिनँ। बरु कहिलेसम्म बन्छ, त्यो भन्नुहोला। अरु ठाउँमा कोठा पाउन पनि गाह्रो छ। पाइहाले पनि त्यहाँका केटाहरूले मलाई बस्न दिँदैनन्। मैले थाहा पाइसक्या छु।’
स्वास्थ्य इन्चार्ज सुरजकुमारको घर खनायाँ गाउँकै प्रतिष्ठित घर हो।
‘त्यस्तो प्रतिष्ठित घरमा बस्दा त मलाई जिस्क्याउँछन्, औषधिको निहुँ पारेर रातिराति केटाहरू कोठामै आउँछन् भनेपछि अर्काे घरमा बसेँ भने त म पक्कै पनि सुरक्षित हुन्न’, नेपालखबरसँग दुःख साट्दै तुलसाले भनिन्, ‘त्यसैले मैले भनेँ- अब क्वार्टर बनेपछि मात्रै आउँछु सर।’
तर सुरजले फकाउँदै भने, ‘ठीक छ, ममीले भनिहाल्नु भो, दुःख नमान्नुस्, आउनुस्। क्वाटर बनिसकेको छ, झ्याल-ढोका र पानीको व्यवस्था गर्न मात्र बाँकी छ। आएपछि त्यो पनि भइहाल्छ।’
त्यसपछि तुलसा अन्ततः मुगु फर्किइन्। तर, भनेअनुसार कुनै व्यवस्था भएन। यता सुरजकी आमा झापुले कोठा छाड्न दैनिक दबाब दिन थालिन्।
‘तर कहाँ जाने? क्वार्टर पनि बनेन। मैले त्यो सहिरहेँ, विकल्प केही थिएन। सहँदै बस्दै गरेँ,’ तुलसा सुनाउँछिन्।
यहीबीच दसैँ बिदामा उनी फेरि घर (दाङ) आइन्।
उनले स्वास्थ्य इन्चार्ज सुरजलाई फेरि फोन गरेर भनिन्, ‘सर! म त्यहाँ बस्न सक्दिनँ। मलाई त्यहाँका मान्छेले धेरै टर्चर गरिसके। हजुरकी ममीले पनि कोठा सर भनिरहनुभएको छ, त्यही भएर सरुवा मिलाउन मलाई टाइम लाग्छ।’
तर फेरि पनि फकाउँदै सुरजले भने, ‘पहिला जे भयो, भयो। म अफिस पनि बसिनँ। अब म निरन्तर अफिस बस्छु, ठेक्कापट्टा सबै छाड्छु। सरुवाका लागि निवेदन दर्ता नगर्नुस्, तपाईंजस्तो मान्छे गएपछि हाम्रो अफिसको हाल के होला!’
त्यसपछि तुलसा ‘होला नि त’ भनेर दसैँ-तिहार बिदा सकिएपछि कार्यस्थल फर्किइन्। तर, उनी त्यतिबेला तीनछक परिन्, जब स्वयम् सुरज उनलाई जात नै कारण देखाउँदै तुरुन्त आफ्नो घरको कोठा छाड भन्न थाले।
‘म आएको दुई/तीनपछि उहाँले अचानक प्रेसर (कोठा छाड्न) दिन थाल्नुभयो’, सुरजको भनाइ उद्धृत गर्दै तुलसाले नेपालखबरसँग भनिन्, ‘तपाईं कोठा सार्नुस्, भोलि बिहानलाई खाना खानुस्, भोलि साँझ तपाईंका लागि खाना पाक्दैन।’
तुलसाले मासिक ६ हजार रुपैयाँ तिर्नेगरी सुरजकै घरमा खाना पनि खाने गरेकी थिइन्।
तुलसाले कोठा सर्न सुरजसँग १० दिनको समय मागिन्।
तर उनले आक्रोशित हुँदै भने, ‘तपाईं जेसुकै गर्नुस्, जहाँसुकै जानुस्, दुःख माने मान्नुस्, सुख माने मान्नुस्, तुरुन्त कोठा सर्नुस्।’
त्यसपछि तुलसाले घर (दाङ) मा फोन गरिन् र बुवाआमालाई भनिन्, ‘कोठा सर्नुपर्ने भयो। किचन, बेडका केही सामान तुरुन्त पठाइदिनुपर्यो।’
उनी गाउँमा अर्काे कोठाको खोजीमा लागिन्। तर त्यो गाउँमा अलि सुरक्षित भनेको तुलसा बसिरहेकै घर मात्र थियो। नत्र कतै झ्याल नभएका, कतै ढोका नभएका, कतै ‘रजस्वला’ भएका बेला ‘अन्तै बस्नुपर्छ नि’ भन्ने घर मात्र थिए।
तुलसाका अनुसार, त्यहाँ महिनावारी भएका बेला महिलाले अलग्गै छानो मात्रै भएको कटेरोमा कम्तीमा एक हप्ता बस्नुपर्ने चलन अझै छ।
बल्लबल्ल एउटा कोठा मिल्यो। त्यहाँ पनि घरधनीले भनिन्, ‘ठीक छ नानी! बस्नचाहिँ बस। तर मेरो छोरा कहिलेकाहीँ रक्सी खाएर आउँछ। त्यस्तो बेला तिमीलाई डिस्टर्ब हुने हो कि?’
एकै छिनपछि करिब २५ वर्षका उनका छोरा पनि आइपुगे। ती व्यक्ति तिनै रहेछन्, जो तुलसालाई मन पराउँछु भन्दै उनको कोठामा एक दिनमै दुई/तीनपटक आएर फोन नम्बर दिन कर गरेका थिए।
तुलसाले मनमनै सोचिन्, ‘त्यही मान्छेको घरमा कोठा सरेँ भने त झन् के होला?’
उनी घरधनी महिलालाई ‘ठीकै छ अन्टी, सर्ने भएँ भने खबर गर्छु है’ भनेर त्यहाँबाट हिँडिन्।
खनायाँ गाउँ धेरै ठूलो छैन। जम्मा ६०/७० वटा घर होलान्। दुई/तीनवटा मल्ल परिवारबाहेक सबै शाही छन्।
अब त्यो गाउँमा कोठा नपाउने लगभग निश्चित भएपछि तुलसाले दुःख सहेर भए पनि स्वास्थ्य चौकीले बनाइरहेको क्वार्टरमै बस्ने विचार गरिन्।
‘झ्याल-ढोका बनिसक्या छ, ट्वाइलेटमा पानीको व्यवस्थाचाहिँ छैन। त्यस्तै भए पनि म्यानेज गरौँला, आफ्नै खर्चले भए पनि धारा जोडौँला भन्ने भयो’, तुलसाले भनिन्, ‘त्यसपछि मैले सुरज सरलाई भनेँ- अब म दुःखसुख सहेर भए पनि क्वाटरमै बस्छु।’
यतिबेलासम्म खनायाँ स्वास्थ्य चौकीबाट सुरजको काज फिर्ता भइसकेको थियो। वास्तवमा उनको नियुक्ति अर्कै ठाउँ (रारा छायानाथ नगरपालिका) मा थियो। काज मिलाएर आफ्नो घरपायक पार्न खनायाँ स्वास्थ्य चौकी आएका थिए।
तुलसाले क्वाटरमै बस्छु भनेपछि सुरजले अफिसमै आएर भने, ‘तपाईं क्वाटरमा पनि बस्न पाउनुहुन्न। यदि मेरो काज पुनः यतै मिलेन भने त ठीक छ, तर फेरि काज यतै मिलाउन सफल भएँ भने म तपाईंलाई त्यहाँ (क्वार्टर) बाट पनि उठाउँछु।’
‘अब भने म पूरै असुरक्षित भएँ। कहाँ जाने? अनि मैले घर (दाङ) मा यस्तो-यस्तो भयो भनेर सुनाएँ’, तुलसाले भनिन्, ‘खगेन्द्र सुनार (दलित अभियन्ता) दाइ मेरा जेठाजु दाइको साथी हुनुहुँदोरहेछ। मेरो कुरा उहाँसम्म पुगेछ।’
यसपछि पुस २ गते बिहानै खगेन्द्रले तुलसाको तस्बिरसहित फेसबुकमा लेखे, ‘मुगुमा अनमी तुलसाकुमारी विश्वकर्मालाई गाउँ निकाला, दलितले छोएको औषधि पनि चल्दैन।’
प्रत्यक्षरूपमा ‘गाउँनिकाला’ भइनसकेको भए पनि उनी लगभग त्यस गाउँमा बस्न नसक्ने वातावरण बनिसकेको थियो।
तुलसाबारेको त्यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भयो।
तर खनायाँमा नेट राम्ररी चल्दैन। मोबाइल डाटा पनि चल्न मुस्किल पर्छ।
‘बाहिरी दुनियाँमा के भइरहेको छ, हामीलाई थाहै हुँदैन’, तुलसा भन्छिन्, ‘कसैले फोन गरेर भन्दिएपछि मात्रै (इन्टरनेटमा आएका कुरा) थाहा हुन्छ।’
तुलसालाई अचानक साथीहरूले धमाधम फोन गर्दै सोध्न थाले, ‘ कता हो? के भइरा’छ तिमीलाई? तिमीबारेको न्युज त भाइरल भइरा’छ त!’
अनि मात्र उनले थाहा पाइन्।
‘त्यसपछि मलाई धेरै डर लाग्यो। यसरी (मिडियामा आफ्ना पीडा) आएपछि गाउँका मान्छेले पक्कै थाहा पाउँछन्’, उनले सुनाइन्, ‘झन् मलाई समस्या हुन्छ। त्यसपछि अर्काे सर हुनुहुन्थ्यो अफिसमा, म रुममा गइहालेँ। रुममा पुगेपछि झन् मलाई धेरै फोन आउन थाले।’
त्यति मात्र होइन, वरपरका मान्छे पनि तुलसाको कोठाअगाडि जम्मा हुन थाले र के हो, कसो हो भनेर सोध्न थाले।
‘मैले आफ्ना पीडा घरका मानिसलाई त सुनाउनैपर्यो। अरू कतै भनेको होइन। मैले गाउँका मानिसलाई सम्झाउन थालेँ- मैले केही गरेको छैन, कतै (मिडियामा) भनेको छैन,’ तुलसा सुनाउँछिन्।
तर आक्रोशित हुँदै गाउँलेले र्याखर्याख्ती पारे, ‘भन्दै नभनेको कुरा मिडियामा कसरी आयो- दलितले छोएको औषधि खान मान्दैन भन्ने कुराहरू?’
तुलसा त्यो क्षण सम्झिन्छिन्, ‘मलाई धेरै गाह्रो भयो। म बेस्सरी रोएँ। अनि ढोका लगाएर भित्रै बसिरहेँ। मेरो बारेको समाचार धेरै भाइरल भएछ। त्यसपछि जिप्रकाले फोन गरेर वडाबाट प्रहरी पठाइदिएछ।’
प्रहरी आएको एक/डेढ घण्टापछि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा स्थानीय दलित अभियन्ता पनि त्यहाँ आए। जिल्लाबाट पनि पत्रकारलगायतको टोली खनायाँ आइपुग्यो। अनि मात्रै उनी कोठाबाट बाहिर निस्किन्। गाउँले एकदम आक्रोशित थिए।
‘धेरै पत्रकारले अब तपाईं यो गाउँमा बस्नु सुरक्षित हुँदैन भन्नुभयो’, त्यो दिनको घटना सुनाउँदै तुलसाले भनिन्, ‘मलाई त्यस दिन उद्धार नगरिएको भए जे पनि हुनसक्थ्यो।’
माहोल तनावपूर्ण भएकाले प्रहरी, पत्रकार तथा अधिकारकर्मीको टोलीसमेत त्यहाँ आधा घण्टाभन्दा बढी टिक्न नसकेको तुलसाको भनाइ छ।
‘सामान तयार पार्न भन्नुभयो मलाई। अनि उहाँहरूसँगै मलाई गाडीमा लिएर जानुभयो’, उनले सुनाइन्।
राति साढे ११ बजे उनी जिल्ला सदरमुकाम गमगढी पुगिन्।
भोलिपल्ट पुस ३ गते उनलाई जिल्ला प्रशासन कार्यालय (मुगु) लगियो। त्यहाँ प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापासहित दलित अधिकारकर्मी, पत्रकारसहितले उनीसँग बयान लिए।
उनले आफ्नो वृत्तान्त सुनाइन्। जसको भिडिओ पनि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा फैलियो।
०००
खनायाँ पाइला टेकेकै दिन हिंसा
कर्णाली प्रदेश लोक सेवा आयोगबाट नाम निस्केपछि अनमी तुलसा विश्वकर्मा २०७९ माघ ९ गतेको नियुक्तिपत्र लिएर खटाइएको स्थान मुगुको सोरुगाउँपालिका–९, खनायाँस्थित स्वास्थ्य चौकीमा माघ १९ गते हाजिर हुन पुगिन्।
पहिलो दिनको हाजिर गर्नेबित्तिकै मादक पदार्थ पिएका केही पुरुष आइपुगे र नानाभाँती भनेर निहुँ खोज्न थाले।
‘अफिसमा रौतहटको एकजना सर पनि हुनुहुन्थ्यो, त्यहाँका लोकल मान्छेहरू रक्सी खाएर आएर औषधि छैन, यताउता, केके भनेर हामीलाई गाली गरेर झगडा गर्न थाले,’ उनले सुनाइन्।
भर्खर आएको तुलसालाई निकै डर लाग्यो।
‘त्यसपछि मैले रुँदै पालिकामा फोन गरेँ। पालिकाका सरहरूले वडानजिकैको प्रहरीलाई खबर गर्नुभएछ’, उनले सुनाइन्।
प्रहरीले उनीहरूलाई माफी माग्न लगायो। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रहरी सबैले रक्सी पिएका बेला त्यस्तो भयो, अब हुँदैन भनेर तुलसालाई सान्त्वना दिए।
उनका अनुसार, त्यस गाउँमा प्रहरी कहिल्यै आएको रहेनछ। जस्तो झैझगडा, मारपिट भए पनि गाउँमै मिलाउने चलन रहेछ।
‘म आफैँले प्रहरीलाई फोन गरेकी थिइनँ। मैले त पालिकामा फोन गरेकी थिएँ। मैले गाउँमा कसैलाई चिनेको थिइनँ। उहाँहरूले वडाको प्रहरीलाई पठाइदिनुभएछ। गाउँमा प्रहरी ल्याएको भनेर मलाई त्यही दिनदेखि नराम्रो नजरले हेर्न थालियो। कहिले प्रहरी नआएको हाम्रो गाउँमा यो आएको एक दिनमै प्रहरी आयो भनेर रिस गर्न थाले,’ तुलसाको भनाइ छ।
कार्यालय जाँदा-आउँदा बाटामै मानिसहरूले कुरा काट्न थाले- यसले साँझ फेरि पुलिस ल्याउँछे!
‘मलाई धेरै गाह्रो भयो त्यहाँ बस्न। तुरुन्तै स्वास्थ्य संयोजक चरित्र धामीलाई फोन गरेर काज मागेँ। उहाँले मिलाउँछौँ भन्नुभयो। आउनूस् भन्नुभयो। सबै सामान तयार गरेर घरबाट झोला बाहिर निकालिसकेको थिएँ। बिहानै थियो। म जान ठिक्क परेका बेला हाम्रो इन्चार्ज सर सुरजकुमार शाही आउनुभयो’, तुलसाले त्यो दिन सम्झिइन्।
स्थानीयले झगडा गर्ने दिन सुरज थिएनन्। बाहिर गएका थिए।
सुरजले भने, ‘आएको एक दिन पनि भा’छैन। भर्खरै आएको कर्मचारीलाई हामी पठाउँदैनौँ। हाम्रो कर्मचारीलाई हामी आफैँ व्यवस्थापन गर्छाैँ। बरु बस्नेखाने व्यवस्था म आफैँ गर्छु।’
‘उहाँले मलाई जानै दिनुभएन,’ तुलसा सुनाउँछिन्।
यसरी सुरजले आफ्नै घरमा उनलाई डेरा दिएका थिए।
‘तर त्यहाँ बस्न थालेको एक/डेढ महिनामै स्थानीय केटाहरूले फोन गर्ने, नानाथरी भन्ने सुरु भइसकेको थियो’, ती दिन सम्झिँदै तुलसा भन्छिन्, ‘यो कुरा मैले आफ्नो इन्चार्ज (सुरजकुमार शाही) लाई कतिपटक भनेँ, तर उहाँले भन्नुभयो- केही गर्दैनन्, फोन मात्रै गर्ने हुन्।’
उनी थप्छिन्, ‘फोन मात्रै गरे पनि मलाई मेन्टल टर्चर त हुन्छ नि! फोन गरेर त्यति धम्क्याउने मान्छेले मलाई फिजिकल ह्यारेसमेन्ट गर्दैनन् भन्ने के ग्यारेन्टी!’
तुलसाको अनुभवमा केटाहरूले यसरी फोनबाट तनाव दिनु त सामान्य रहेछ त्यहाँ।
आफ्नै दुई ‘हाकिम’विरुद्ध मुद्दा
तुलसाले जातीय विभेद गरेको भनी दिएको जाहेरीका आधारमा खनायाँ स्वास्थ्य चौकी इन्चार्ज सुरजकुमार शाहीसहित उनकी आमा झापु शाही र स्थानीय किराना व्यापारी धनप्रसाद भट्ट हाल हिरासतमा छन्।
उनीहरूविरुद्ध जातीय विभेद कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ। सोरु गाउँपालिकाकै वडा नम्बर ६, सोरुकोटमा किराना पसल गर्ने भट्टले अनमी तुलसा पसलमा सामान किन्न जाँदा तल्लो जातको भनी सामान हातमा नदिएर भुइँमा राखिदिएको र पैसा पनि त्यसैगरी लिएको आरोप छ।
प्रहरीले झापु र भट्टलाई पुस ८ गते तथा सुरजलाई ९ गते नियन्त्रणमा लिएको थियो।
सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लविरुद्ध भने तुलसाले सिधै अदालतमा यौन हिंसाको उजुरी दिएकी छन्। यस विषयमा मल्ललाई म्याद पठाउने तयारी भइरहेको अदालतले जनाएको छ।
‘१८ वर्षसम्मका किशोरीलाई भएको यौन हिंसाचाहिँ प्रहरीले हेर्ने रहेछ’, २३ वर्षीया तुलसाले भनिन्, ‘यसभन्दा माथिका महिलाले चाहिँ सिधै अदालतमा मुद्दा दर्ता गर्न मिल्ने रहेछ।’
प्रहरीमा जाहेरी नदिइएकाले वीरेन्द्र भने पक्राउ परेका छैनन्। अब उनले सिधै अदालतलाई लिखित प्रतिउत्तर दिनुपर्नेछ।
अन्योलमा अनमी तुलसा
प्रहरीसहितको टोलीले उद्धार गरी मुगुको सदरमुकाम गममढी ल्याएयता (पुस ३ गतेदेखि) अनमी तुलसा खनायाँ स्वास्थ्य चौकीमा अनुपस्थित छिन्। हाल श्रीमान्को घर कालीकोटमा रहेकी उनले अब कहाँ काम गर्ने भन्ने चिन्ता लागिरहेको दुःखेसो गरिन्।
‘कालीकोटमै काज सरुवाका लागि प्रोसेस गरिरहेको छु’, मंगलबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘हेरौँ अब के हुन्छ? खनायाँ फर्किने अवस्था त म देख्निनँ। पहिले त त्यस्तो असुरक्षित थिएँ भने अहिले गएँ भने त के बाँकी राख्लान् र?’
जातीय विभेद र यौनहिंसाले सीमा नाघेपछि उनले गत साउनदेखि नै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय धाएर सरुवाका लागि पहल गरिरहेकी हुन्। तर कर्णाली प्रदेशको मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालयले पनि आफ्नो पीडाको कुनै सुनुवाइ नगरेको गुनासो उनले गरिन्।
‘मेरो सरुवाका लागि मेरा श्रीमान् धाउँदाधाउँदा बल्ल गत मंसिर ६ गते मुख्यमन्त्रीको कार्यालयले हाम्रो पत्र दर्ता गरेको छ’, उनले भनिन्, ‘तर अहिलेसम्म सरुवाको कुनै निर्णय हुन सकेको छैन।’
न्याय पाउनेमा शंका
आरोपितविरुद्ध अदालतमा मुद्दा दर्ता भए पनि न्याय पाउन भने सहज लागेको छैन तुलसालाई।
‘हरेक कुराका लागि सबुत (प्रमाण) चाहिने रहेछ। गर्ने कुरा (विभेद/हिंसा) उनीहरूले गरे, भोग्ने कुरा मैले भोगेँ, अब मैले छुवाछूत गरेको प्रमाण के दिऊँ? जातीय विभेद गर्नेले पक्कै मैले भेदभाव गरेको थिएँ भन्दैनन्,’ उनी भन्छिन्।
यौन हिंसाको मुद्दा लागेका शिक्षा शाखा प्रमुख मल्लविरुद्ध भने कलडिटेल हेरियो भने प्रमाण हुन सक्ने आशा उनलाई छ।
लामो कुराकानीपछि अनमी तुलसाले नेपालखबरसँग अनुरोध गरिन्, ‘मेरा सबै पीडा नछुटाई लेख्दिनुहोला, ताकि त्यहाँ (खनायाँ स्वास्थ्य चौकी) फेरि अर्की दलित महिलाले मैलेजस्तो हिंसा भोग्न नपरोस्।’
Shares
प्रतिक्रिया