ad ad

समाज


‘अजित मिजारकी आमाले भनिन्ः छोरो सधैँका लागि सुत्यो, म नसुतेको ७ वर्ष भयो’

‘अजित मिजारकी आमाले भनिन्ः छोरो सधैँका लागि सुत्यो, म नसुतेको ७ वर्ष भयो’

अजित मिजारका बुवाआमासँग भेटका क्रममा दलित अभियन्ता खगेन्द्र सुनार (दायाँ)


नेपालखबर
पुस २१, २०८० शनिबार २१:२६, काठमाडौँ

गैरदलित किशोरीसँग प्रेमविवाह गर्दा ७ वर्षअघि मारिएका अजित मिजारको काभ्रेस्थित घरमै पुगेर आज दलित अभियन्ताहरूको टोलीले उनका बुवाआमालाई भेटेको छ। 

‘दलितका लागि दलित आन्दोलन’का संयोजक खगेन्द्र सुनारको टोलीले शनिबार काभ्रेको पाँचखाल नगरपालिका–६ होक्से पुगेर अजितका बुवा हरिभक्त ढकाल मिजार र आमा काली मिजारलाई भेटेको हो। 

यस क्रममा सुनारसँग अजितकी आमाले भनिन्, ‘छोरो सधैँका लागि सुत्यो, म नसुतेको सात वर्ष भयो।’

उनी रोएको देखेर मन खिन्न भएको अभियन्ता सुनारले बताएका छन्। 

अजितको न्यायका लागि आन्दोलन गर्ने घोषणा गरेका सुनारले सोही सिलसिलामा पीडित परिवारसँग भेट गरेका हुन्। 

अजित हत्यासम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ। 

उक्त घटनाका तीनै प्रतिवादीलाई जिल्ला अदालत धादिङ तथा उच्च अदालत पाटनले समेत सफाइ दिएपछि अजितका बुवा हरिभक्तले उक्त मुद्दा पुनः हेरिपाऊँ भनी गत वैशाखमा सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।

यस्तो थियो घटना
काभ्रेको पाँचखाल नगरपालिका–६ होक्सेका १८ वर्षीय अजित मिजार गाउँकै पराजुली थरकी किशोरीसँग प्रेम गर्थे। तर केटीको परिवारलाई आफ्नी छोरीले कथित अछूत जातका केटासँग सम्बन्ध बनाएको पटक्कै मन परिरहेको थिएन। उनीहरू कुनै पनि हालतमा यो सम्बन्ध छुटाउने पक्षमा थिए। 

त्यसैले अजितले २०७३ असार २५ गते प्रेमविवाह गर्दै केटीलाई भगाए। श्रीमती लिएर अजित भक्तपुरस्थित दिदीको घर गएर बसे। 

यता अजितका बुबा हरिभक्तलाई केटीपक्षबाट लगातार ज्यान मार्ने धम्की आउन थाल्यो। यसपछि हरिभक्त २०७३ असार २७ गते प्रहरी कार्यालय पुगे। प्रहरीले बिहे गर्न केटा र केटी दुवैको उमेर नपुगेको भन्दै उनीहरूलाई घर फर्काउने सहमति गरायो।

तर त्यसको ३ दिनपछि अजित धादिङको परेवाटारस्थित विश्रामस्थलमा झुन्डिएको अवस्थामा मृत फेला परे। 

साउन १ गतेसम्म पनि शवको सनाखत नभएपछि प्रहरीले उनको मृत्युलाई आत्महत्या भनी बेवारिसे शवका रूपमा गाडिदियो। छोराको मृत्युको खबर पाएपछि हरिभक्त ढकाल मिजार धादिङ पुगे। तर प्रहरीले अजितले आत्महत्या गरेको र उनको शव गाडिसकिएको जानकारी गरायो। 

हरिभक्तले अन्तिम संस्कार गर्न छोराको शव खाल्डोबाट निकालिदिन प्रहरीसँग अनुरोध गरे।

जब शव खाल्डोबाट निकालियो, तब हरिभक्तले आत्महत्या नभई छोराको हत्या भएको संकेत पाए।

खाल्डोबाट अजित मिजारको शव निकालिँदै

त्यसपछि छोराको शव लिएर उनी काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आए। 

यसपछि आफ्नो छोराको हत्या भएको शंका गर्दै अजितका बुबाले २०७३ साउन २ गते धादिङकै गजुरीस्थित इलाका प्रहरी कार्यालयमा केटीका बाबुसहित तीन जनाविरुद्ध किटानी जाहेरी दिए।

त्यसको एक महिनापछि भदौ २० गते प्रहरीले उनीहरूलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलायो। तर जिल्ला अदालत धादिङले उक्त मुद्दामा २०७५ जेठ २० गते तीनैजना विनोद भनिने टेकबहादुर पराजुली, ध्रुव भनिने भोजबहादुर पराजुली र सम्झना पराजुलीलाई सफाइ दियो। 

चित्त नबुझेपछि अजितका बुवा हरिभक्तले उच्च अदालत पाटनमा पुनरावेदन गरे। तर उच्च अदालतले पनि २०७९ वैशाख १२ गते जिल्ला अदालतकै फैसला सदर गरेपछि उनी गत वैशाखमा सर्वाेच्च अदालत पुगेका हुन्। 

न्याय नपाएसम्म छोराको अन्तिम संस्कार नगर्ने हरिभक्तको अडानका कारण अजितको शव ७ वर्षदेखि त्रिवि शिक्षण अस्पतालको शवगृहमै अलपत्र छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .