ad ad

समाज


नारायणगढ-मुग्लिन सडक थप ३ साता बन्द गरिने

नारायणगढ-मुग्लिन सडक थप ३ साता बन्द गरिने

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०८० बुधबार १३:५६, चितवन

नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ। सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो। 

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गर्ने क्रम जारी छ। यसको अवधि आउँदो शनिबार सकिने भएकाले थपिने भएको हो। 

चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको बताए। 

उनका अनुसार बिहीबार सुरक्षा समितिको बैठक बसेर थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिइने छ। 

उनले भने, “अत्यावश्यक सवारी साधन छाड्नुपर्ने हुँदा दिनमा चार घण्टा भनिए पनि दुई/तीन घण्टा राम्रो गरी काम भएको छ।”

यथाशीघ्र छिटो काम सक्न भनिएको उनले बताए।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार हालसम्म १४ मिटर ढिस्को भत्काइसकिएको छ। त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो। गत साल २५ मिटर तल झारिएको थियो। बाँकी ३५ मिटरमध्ये आधा ढिस्को शनिबारसम्म भत्काइसक्ने अनुमान छ। 

गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो। यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको उनको भनाइ छ। आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ। गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएको थियो। 

आचार्यले कामको गतिलाई हेरेर आफूहरु उत्साहित भएको बताए।

गत वर्ष भत्काउने क्रममा सुरुमा १५ मिटर सहजै भत्काउन सकिएको थियो। त्यसपछिको १० मिटर भत्काउन ४५ दिन लागेको उनले जानकारी दिए। सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो। 

विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो। पुलको लागत रु एक अर्ब २८ करोड छ। अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो। यो राजमार्गलाई एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो।

पुल ११ मिटर चौडा छन्। सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ। यो राजधानी बाहिरिने र भित्रने प्रमुख सडक हो। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .