ad ad

समाज


पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला

पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला

नेपालखबर
पुस २५, २०८० बुधबार १९:२३, काठमाडौँ

विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बुधबार शाहसहित यो मुद्दामा दोषी ठहर भएकाहरुको सजाय निर्धारण गरेको हो।

शाहबाट १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो भराउन र बिगो बराबर जरिवाना अशुलउपर गर्न पनि अदालतले आदेश दिएको छ।

सिन्धुलीको दुधौली तालिमकेन्द्रका तत्कालीन समादेशक नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहसहित चारजनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा पुस ११ गते दोषी ठहर गरेको थियो।

यो प्रकरणमा लेखापाल एवम् पूर्व प्रहरी नायव निरीक्षक दिपेन्द्र प्रसाद पनेरु, केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव बिशंखेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।

पनेरुलाई पनि तीन वर्ष कैद र १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र बिगो बराबर जरिवाना अशुलउपर गर्न विशेषले आदेश दिएको छ।

ऐरी र बिशंखेले भने सफाई पाएका छन्।

पूर्वडीआईजी शाहसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ फागुनमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

मध्यक्षेत्रीय तालिम केन्द्र दुधौली, सिन्धुलीमा रहँदा उनीसहित चारजनाले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोप लागेको थियो।

उनीहरुले तालिम केन्द्रमा सरुवा भई आएका १०३ जना प्रहरी जवानको २०७२ माघ र फागुन महिनाको तलव भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको ०७२ साल माघमा २ दिनको तलब १ लाख ४९ हजार ६१६।८८ रुपैयाँ गरी ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा तलवी भरपाईमा कीर्ते दस्तखत गरी खाएको पुष्टि भएको अख्तियारको दाबी थियो।

अख्तियारले उनीहरूविरुद्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।

कोलेनिकाका लेखापाल बिशंखेले प्रहरी तालिम केन्द्रको हिनामिना देख्दा देख्दै लेखा परीक्षण गर्दा निजी लाभका लागि तथ्यहरू लुकाएको आरोप लागेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .