मंगलबार राति काठमाडौँबाट पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेस गरिँदैछ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई सडक मार्ग हुँदै गएराति झण्डै २ बजे मलंगवास्थित सर्लाही जिल्ला प्रहरी कार्यालयमा पुर्याएको छ।
बम्जनलाई हवाई मार्गबाट जनकपुर हुँदै सर्लाही लैजाने तयारी सीआईबीले गरे पनि जनकपुरको मौसम खराब भएपछि उनलाई गाडीमा राखेर सर्लाही लगिएको थियो। अहिले बम्जनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धितालले जानकारी दिए।
‘आज उनलाई जिल्ला अदालतमा पेस गर्ने तयारी हामीले गरेका छौँ,’ एसपी धितालले बिहीबार बिहान नेपालखबरसँग भने, ‘उनीविरुद्धको बलात्कारसम्बन्धी एउटा मुद्दा सर्लाही जिल्ला अदालतमा विचाराधिन अवस्थामा छ।’
अदालतमा आजै बम्जनविरुद्धको मुद्दामा पक्ष विपक्षका वकिलहरुले बहस गर्ने उनले बताए। ‘सम्भवत निर्णय पनि आजै आउँन सक्छ,’ उनले भने, ‘बहस लम्बियो भने निर्णय आउन एकदुई दिन लाग्ला।’
एसपी धितालले अहिले बम्जनलाई अन्य थुनुवासँगै हिरासतमा राखिएको जानकारी दिए। ‘उनलाई हामीले कुनै विशेष सुविधायुक्त ठाउँमा राखेका छैनौँ। अन्य थुनुवाहरुसँग एउटै कोठामा राखेका छौँ,’ एसपी धितालले भने।
बम्बनविरुद्ध २१ असार २०७७ मा सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दा बम्जनमाथि छ। बाराको निजगढ नगरपालिका, वडा नं १२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसयता उनी निरन्तर फरार थिए।
बम्जन सर्लाहीको लालबन्दी नगरपालिका १२ पत्थरकोट (चुरे क्षेत्र)मा आश्रम बनाएर केही वर्ष बसेका थिए।
- ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ
- काठमाडौँमा रामबहादुर बम्जनको घरबाट ३ करोड रुपैयाँ बरामद
- बम्जनलाई प्रहरीले १८ दिनदेखि पछ्याएको थियो, आठ दिन घरभित्रै लुकेर बसे
- ‘तपस्वी’ बम्जनलाई पक्राउ गर्न प्रहरीले चलाएको त्यो अपरेसन (भिडिओ)
- जंगलभित्र बम्जनको छुट्टै राज, जहाँ प्रहरीलाई ‘राक्षस’ मानिन्छ (अप्रेसनः भिडियो)
- फरार अभियुक्त रामबहादुर बम्जनको घरमा प्रहरीले टाँस्यो अदालतको पत्र
- सुत्ने कोठामै पुग्दा पनि प्रहरी किन असफल भयो ‘‘तपस्वी’’ बम्जनलाई समात्न?
Shares
प्रतिक्रिया