ad ad

समाज


अब कहिले पक्राउ पर्छन् ८ वर्ष जेल सजाय तोकिएका सन्दीप?

अब कहिले पक्राउ पर्छन् ८ वर्ष जेल सजाय तोकिएका सन्दीप?

नेपालखबर
पुस २६, २०८० बिहिबार १०:५, काठमाडौँ

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले बुधबार ८ वर्ष जेल सजाय सुनाइसकेको छ।

हाल थुनाबाहिर रहेका उनी अब कहिले पक्राउ पर्छन् र जेल जान्छन्? यतिबेला धेरैलाई यो जिज्ञासा लागिरहेको हुनसक्छ। 

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार जेल सजाय तोकिए पनि सन्दीप तत्काल पक्राउ पर्दैनन्।

उनका अनुसार सन्दीपलाई अझै कम्तीमा ४ महिना पक्राउ गर्न मिल्दैन।

‘जिल्ला अदालतले फैसलाको पूर्णपाठ तयार पारेपछि सन्दीपले पुनरावेदन गर्न ७० दिनको म्याद पाउँछन्’, बिहीबार बिहान नेपालखबरसँग कुरा गर्दै सूचना अधिकारी पन्थीले भने, ‘यस अवधिभित्र पुनरावेदन गरेनन् भने थप ३० दिन पाउँछन्।’

उनका अनुसार फैसलाको पूर्ण पाठ तयार पार्न अदालतलाई २१ दिन लाग्छ। अर्थात् सन्दीपले २१ दिनपछि फैसलाको पूर्ण पाठ पाउँछन्। त्यही दिनदेखि गन्ती गरेर उनले सय दिन पुनरावेदनका लागि समय पाउँछन्। 

यस हिसाबले त्यो २१ र यो १०० दिन गर्दा उनले अझै १२१ दिन अर्थात् ४ महिना समय पाउँछन्।   

त्यसपछि पनि सन्दीपले थुनाबाहिरै पुनरावेदन गरिपाऊँ भनेर निवेदन दिन पाउने कानुनी व्यवस्था छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ को २ अनुसार १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले थुनाबाहिरै बसेर पुनरावेदन गर्ने अनुमति पाउँछ।

तर यस्तो अनुमति दिने कि नदिने भन्ने विषयमा पुनरावेदन दर्ता गर्ने उच्च अदालतका का रजिस्ट्रारले निर्णय गर्नुपर्छ। 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले सन्दीपलाई यही पुस १३ गते दोषी ठहर गरेको थियो। तर सजाय तोकिएको थिएन।

बुधबार बसेको न्यायाधीश ढकालकै इजलासले उनलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो। 

गौशाला २६ (पीडित) ले सन्दीपविरुद्ध २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

त्यतिबेला राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। उनीविरुद्ध बलात्कारको जाहेरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई सो पदबाट निलम्बन गरेको थियो। 

आफूविरुद्ध जाहेरी परेको थाहा पाएपछि सन्दीप वेस्ट इन्डिजबाट तुरुन्त फर्किएनन्। उनी नफर्किएपछि नेपाल प्रहरीको आग्रहमा २०७९ असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गर्‍यो।

यसपछि स्वदेश फर्किएका सन्दीपलाई असोज २० गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनासाथ प्रहरीले पक्राउ गरेको थियो। 

बलात्कार मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौँ जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो।

तर उक्त आदेशविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरे। जसमा सुनुवाइ गर्दै उच्च अदालतले विभिन्न सर्त राख्दै पुस १८ गते उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो। 

उच्चको आदेशमा काठमाडौँ उपत्यकाका छाड्न पनि प्रहरीको अनुमति लिनुपर्ने, विदेश जान नपाउने, पीडितसँग प्रत्यक्ष/अप्रत्यक्ष सम्पर्क गर्न नपाउनेलगायत थिए। 

तर उक्त आदेशविरुद्ध पनि सन्दीप लामिछाने सर्वोच्च अदालत पुगे। सँगसँगै  महान्यायाधिवक्ताको कार्यालयले भने उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वाेच्चमा निवेदन दियो। 

दुवै निवेदनलाई एकसाथ राखेर सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते राष्ट्रिय खेलाडी भएकाले सन्दीपलाई विदेश जाने अनुमति दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .