त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी बढेपछि सरकारले सशस्त्र प्रहरी पनि खटाएको छ। सोमबारदेखि विमानस्थलको भन्सार जाँच र यात्रु चेकजाँचमा सशस्त्र प्रहरीलाई पनि संलग्न गराइएको हो।
यसका लागि सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३० जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए। अब विमानस्थलको भन्सार जाँच र यात्रु चेकजाँच हुने स्थानमा सशस्त्र प्रहरी पनि २४ सै घण्टा तैनाथ रहनेछ।
विमानस्थलको सुरक्षा तथा भन्सार जाँचपासमा पटक पटक प्रश्न उठेपछि सरकारले सशस्त्र प्रहरी पनि खटाउने निर्णय गरेको हो। यसअघिदेखि नै गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई पनि विमानस्थल भन्सारमा खटाउन माग गर्दै आएको थियो। तर अर्थ मन्त्रालय सशस्त्र प्रहरीलाई सामेल गराउन सकरात्मक नहुँदा निर्णय हुन सकेको थिएन।
भन्सारका कर्मचारीकै मिलेमतोमा विमानस्थलबाट तस्करी भएको पाइएपछि अर्थ मन्त्रालय सशस्त्रलाई रोक्ने अडानबाट पछि हटेको हो। भन्सार चेकजाँचमा मुख्य भूमिका भन्सारकै कर्मचारीको हुने भएपनि सशस्त्र प्रहरीलाई पनि सँगै रहनेछ।
यसअघि निजी कम्पनीका सुरक्षाकर्मीलाई मात्रै सामेल गराइएको थियो। सीमानाको सुरक्षा हेर्ने सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थल पनि अन्तर्राष्ट्रिय सीमाना भएकाले खटाउने निर्णय पुस २६ मा नै भएको गृहका एक अधिकारीले बताए।
विमानस्थलबाट पटक पटक ठूलो परिमाणमा सुन तस्करी भएको थियो। कतिपय घटनामा भन्सारका कर्मचारीको समेत संलग्नता पुष्टि भइसकेको छ। भेपमा भएको सुन त भन्सारका कर्मचारीले नै तस्करबाट समेत गायब गरिदिएका थिए।
ब्रेकप्याडमा भएको सुन तस्करीमा पनि भन्सारका कर्मचारीको संलग्नता खुलेको थियो। भन्सारका कर्मचारीविरुद्ध पनि पक्राउ गरेर मुद्दा चलाइएको छ।
पछिल्लो पटक १४ किलो सुन तस्करीको घटना भएको थियो। त्यसमा पनि विमानस्थलकै कर्मचारीको संलग्नता पुष्टि भएको थियो। यसअघि पनि यो समूहले १३८ किलो सुन भित्र्याइसकेको खुलेपछि छानविन समिति गठन गरिएको थियो।
उक्त घटनाले पनि भन्सारको भूमिकामा प्रश्न उठाएको थियो। सशस्त्र प्रहरीलाई सामेल गराउँदा एकअर्कालाई चेक एण्ड ब्यालेन्स गर्ने र तस्करी रोकिने गृह मन्त्रालयको विश्वास छ।
Shares
प्रतिक्रिया