उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राष्ट्रसंघका अन्डर सेक्रेटरी जनरल एण्ड द यूएन हाइ रिप्रिजेन्टेटिभ फर डिसआरमेन्ट अफेयर्स इजुमी नाकामित्सुलेले भेटवार्ता गरेका छन्।
शिष्टाचार भेटमा उपप्रधानमन्त्री खड्काले नाकामित्सुलाई स्वागत गर्दै संयुक्त राष्ट्रसंघबाट भएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे।
उक्त अवसरमा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले नेपाल र संयुक्त राष्ट्रसंघबीच घनिष्ठ सम्बन्ध रहेको बताए।
नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पाएदेखि नै विभिन्न कार्यक्रममा सहभागी हुँदै आएको र राष्ट्रसंघको बडापत्र एवम् जिम्मेवारीप्रति प्रतिवद्ध रहेको उल्लेख गरे।
विश्व शान्ति कायम गर्ने संयुक्त राष्ट्रसंघको उद्देश्य प्राप्तिमा नेपाल सक्रियतापूर्वक लागि रहेको बताउँदै खड्काले विश्वका १२ राष्ट्रका १३ वटा मिशनमा ६ हजारभन्दा बढी शान्ति सैनिक परिचालन गरेको पनि उल्लेख गरे।
नेपालले लैङ्गिक हिंसा तथा यौन दुर्व्यवहारमा शून्य सहनशीलताको नीति लिएको कुरा उनले बताए।
शान्ति सैनिकको क्षमता एवम् अनुशासनमा विशेष जोड दिँदै खड्काले उच्चस्तरको कार्य सम्पादनका लागि नेपालले तालिम तथा क्षमता अभिवृद्धिमा विशेष जोड दिएको कुरा उल्लेख गरे।
खड्काले नेपाल सधैँ निशस्त्रीकरणको पक्षमा रहेको बताए। त्यसका लागि संयुक्त राष्ट्र संघकाका अधिकांश उपकरणप्रति नेपाल प्रतिवद्ध रहेको पनि उनले बताए।
केही उपकरणहरूको सन्दर्भमा नेपाल पक्ष राष्ट्र भइसकेको खड्काको भनाइ थियो। यससँग सम्बन्धित राष्ट्रिय कानुन निर्माणमा समेत नेपाल अघि बढिरहेको उनले बताए।
शान्ति तथा निशस्त्रीकरणसम्बन्धी काठमाण्डौंमा रहेको क्षेत्रीय केन्द्रलाई क्रियाशील बनाउन र काठमाडौँ प्रोसेसमार्फत क्षेत्रीय शान्ति प्रवर्द्धनमा अगाडि बढ्नु पर्ने पनि उनले बताए।
त्यस अवसरमा संयुक्त राष्ट्रसंघका नाकामित्सुले नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति प्रवर्द्धनसम्बन्धी कार्यक्रमका लागि उपयुक्त स्थान भएको कुरामा जोड दिँदै संयुक्त राष्ट्रसंघले विश्व शान्ति एवम् निशस्त्रीकरणमा नेपालसँग मिलेर थप काम गर्न चाहेको बताइन्।
नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमार्फत विश्व शान्ति स्थापनामा खेलेको भूमिका एवं नेपाली सेनाको उत्कृष्ट कार्य सम्पादनको प्रशंसा गरिन्।
संयुक्त राष्ट्रसंघले अघि बढाएका विश्व शान्ति एवं निशस्त्रीकरणसम्बन्धी प्रयत्नहरूमा नेपाल थप क्रियाशील रहने आशा पनि उनले व्यक्त गरिन्।
भेटमा रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकृत साथै, संयुक्त राष्ट्रसंघका प्रतिनिधि उपस्थित थिए।
Shares
प्रतिक्रिया