परराष्ट्रमन्त्री एनपी साउदले कोरियन कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
काठमाडौंस्थित कोरियन दूतावासले मंगलबार होटल याक एन्ड यतिमा आयोजना गरेको नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सब अवसरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले यसो भनेका हुन्।
'ठूलो संख्यामा कोरियाली कम्पनी, उद्योगीलाई र लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न तत्पर छौं', उनले भने।
परराष्ट्रमन्त्री साउदले दुवै मुलुकबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना रहेको पनि बताएका छन्। 'हामीबीच आर्थिक साझेदारीका सम्भावनाहरू अन्वेषण गरौं। द्विपक्षीय व्यापार अभिवृद्धि गरौं र लगानी बढाऔं', उनले भने।
उनले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिमा साझेदारीलाई बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन्।
'कोरियामा हजारौँ नेपाली कामदार छन्। नेपालीहरूले थप अध्ययनका लागि कोरिया रोजेका छन्। हजारौँ कोरियाली पर्यटकका रूपमा नेपाल आउने गरेका छन्। कोरियालीहरूको ठूलो संख्याले नेपालमा लगानी गरेको छ। आगामी दिनहरूमा, हामी यसलाई साझेदारीलाई थप विस्तार गर्नेछौँ', उनले भने।
परराष्ट्रमन्त्री साउदले उच्चस्तरीय भ्रमणको आदानप्रदानलाई पनि गति दिने पनि बताए। 'म विश्वस्त छु कि स्वर्ण जयन्तीको अवसरमा उच्चस्तरीय भ्रमण गर्न सक्छौं', उनले भने।
Shares
प्रतिक्रिया