काठमाडौँ महानगरपालिकाले रंग संकेतसहितको फोहोर उठाउने गाडी तयार पारेको छ। स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न सो गाडी तयार पारिएको हो।
फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका लागि गाडीको व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ।
वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार ३।५ क्युविक मिटर क्षमता भएको गाडीको विचबाट २ खण्ड बनाइएको छ। हरेक खण्ड (कोठा) १.५ क्युविक मिटर क्षमताका छन्। ती कोठाको पछाडि र बिचमा गरी २ वटा ढोका छन्। यसमध्ये बिचमा राखिएको ढोकाबाट फोहोर संकलन गरिन्छ।
बाहिरबाट हेर्दा गाडी २ रङ्गको देखिन्छ। कुहिने फोहोर संकलन गरिने कोठातिर हरियो छ भने नकुहिने तथा अन्य फोहोर संकलन गरिने कोठातिर नीलो रङ्ग राखिएको छ। श्रेष्ठका अनुसार कुहिने फोहोर संकलन हुने कोठामा करिब १ हजार ५ सय किलो फोहोर संकलन गर्न सकिन्छ।
फोहोर वर्गीकरणको नमूना कार्यक्रम वडा नं. २७ बाट कार्यान्वयन गर्ने तयारी थालिएको महानगरपालिकाले जनाएको छ।
सोही क्रममा शनिबार सचेतनामूलक प्रभातफेरी निकालिएको थियो।
यस क्रममा भेटिएका स्थानीयले महानगरपालिकाको कार्यक्रमको प्रशंसा गर्दै आफूहरुले छुट्याएर मात्र फोहोर बाहिर निकाल्ने दायित्व पूरा गर्ने बताएका थिए।
Shares
प्रतिक्रिया