श्रीलंक नागरिकहरूलाई वैदेशिक रोजगारको लागि विभिन्न युरोपेली देश पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाएको पाइएको छ।
यस घटनामा संलग्नताको आरोपमा चारजना पाकिस्तानी नागरिकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
पाकिस्तानी नागरिकहरू ५७ वर्षीय जुबेर अम्जाद, ४२ वर्षीय शाहजेहान तानबिर, ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह पक्राउ परेका हुन्।
ती श्रीलंकाली नागरिकहरूलाई क्यानडा, रोमानिया, ग्रिस लगायतका देशमा पठाइदिने विश्वास दिलाई श्रीलंकाबाट नेपाल ल्याई उपत्यकाका विभिन्न स्थानमा रहेका होटलमा राखेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले पीडितको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की दिई, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगदसमेत लिएर जबर्जस्ती बन्धक बनाई राखेका थिए।
बन्धक रहेका श्रीलंकाली नागरिकलाई प्रहरीले चैत २२ गते सकुशल उद्धार गरेको छ।
पक्राउ परेका पाकिस्तानीउपर अपहरण तथा शरीर बन्धक कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ।
Shares
प्रतिक्रिया