पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्।
एमाले कास्कीको ११औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण तथा स्याङ्जा जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्न पुगेका ओलीलाई शुक्रबार सहकारीपीडितहरूले भेटेका हुन्।
उनीहरूले लिखित ज्ञापन पत्र नै बुझाउँदै हिनामिना गरेर गायब गरिएको आफूहरूको बचत रकम फिर्ता हुने वातावरण बनाइदिन ओलीसँग गुहार लगाएका हुन्।
अोलीसँग सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिले ज्ञापनपत्र बझाउँदै सञ्चालक जीबी राईको विषयमा सिंगो राज्य र प्रहरी निकम्मा भएको गुनासो गरे।
सूर्यदर्शन सहकारीका बचतकर्ताको रकमसहित फरार जीबी राईलगायतलाई पक्राउ गरी समस्या समाधान गरिदिन ओलीसँग आग्रह गरिएको पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए।
पीडितहरूले सहकारीको समस्या समाधान गर्न राज्यबाट ठोस नीति, नियम र ऐन, कानून बनाएर सहकारी पीडितहरूको बचत फिर्ता गरेर न्याय दिन ओलीसँग माग गरेका हुन्।
‘सूर्यदर्शन सहकारीका सञ्चालक जीबी राईको विषयमा सिङ्गो राज्य, सरकार, प्रहरी प्रशासन निकम्मा बनिरहेको अवस्था छ’, उनीहरुले ज्ञापनपत्र बुझाउँदै भनेका छन्, ‘नभए तपाईंको सम्पूर्ण राजनीतिक जीवनको अनुभवका आधारमा, तपाईंले चलाएका सत्ता र शासनको आधारमा भन्नु पर्दा के हामी पीडितले न्याय पाउनु पर्ने होइन र?’
यसअघि गत चैत ४ गते सूर्यदर्शन पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर ज्ञापन पत्र बुझाएका थिए।
पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा भएको दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार वितरण गरेर फर्किने क्रममा सहकारीका पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबारे पनि छानबिन हुनुपर्ने आवाज उठाएका थिए।
शुक्रबार ओलीलाई जस्तै त्यसदिन पनि पीडितहरूले आफूहरुको बचत रकम फिर्ता गराइदिन माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएका थिए।
त्यसबेला पनि प्रधानमन्त्रीले पीडितहरूलाई न्याय दिलाउने बताएका थिए। तर तीन साता हुन लाग्दा पनि प्रधानमन्त्रीले भनेअनुसार जीबी पक्राउ पर्न सकेका छैनन्।
Shares
प्रतिक्रिया