भारतको उत्तराखण्डस्थित नैनितालको उचाकोटमा जिप दुर्घटनामा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ।
बाँकेको बैजनाथ गाउँपालिका–८ का अध्यक्ष भगन थारुका अनुसार नैनिताल दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६ जना बैजनाथ गाउँपालिका-८ कै परेका छन्।
‘दुर्घटनाको खबरले गाउँ पूरै शोकमग्न छ। परिवारका सदस्य नैनिताल पुगिसकेका छन्,’ उनले भने।
बैजनाथ गाउँपालिका–८ फतेहपुरका धिराज चौधरी (रामधिराज)ले दुर्घटनामा ज्यान गुमाए। उनकी श्रीमती शान्ति (लौटी) घाइते छिन्।
उनीहरू मजदुरी गर्न पुसमा भारत गएका थिए। नयाँ वर्षका लागि घर फर्किँदा नेपाली श्रमिक सवार जिप दुर्घटनामा परेको थियो।
दुर्घटनामा फतेहपुरकै उदयराम चौधरी पनि छन्। बैजनाथ गाउँपालिका–८ को शक्तिनगरका अन्तराम चौधरी ९आटाराम० र विश्राम चौधरी, थपुवाका विनोद चौधरी र तिलकराम चौधरी र बर्दियाको बाँसगढी नगरपालिका–१ बबईका टोपबहादुर बस्नेतले दुर्घटनामा ज्यान गुमाए।
दुर्घटनामा जिप चालक नैनितालकै राजेन्द्र कुमारको पनि मृत्यु भएको थियो। घाइते छोटु चौधरीको उपचार भइरहेको छ।
मृतकको शव नैनितालमा राखिएको छ। उनीहरूको परिवारका सदस्य शव बुझ्न नैनिताल पुगिसकेका छन्। शव स्वदेश ल्याएर गाउँमै अन्त्येष्टि गर्ने उनीहरूको तयारी छ।
सच्याइएको **: यसअघि यसै समाचारमा असावधानीवश असम्बन्धित व्यक्तिको विवरण परेकाले सच्याएका छौँ। -सम्पादक
Shares
प्रतिक्रिया