ad ad

समाज


सशस्त्रको बलम्बु गोदाममा आगलागी : एसपीसहित ७ जनालाई सोधपुछमा झिकाइयो, सुरक्षामा नयाँ टोली

सशस्त्रको बलम्बु गोदाममा आगलागी : एसपीसहित ७ जनालाई सोधपुछमा झिकाइयो, सुरक्षामा नयाँ टोली

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८० बुधबार १७:४४, काठमाडौँ

यही सोमबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागी घटनाबारे छानबिन गर्न गठित आन्तरिक समितिले काम थालेको छ।

आगलागीपछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा ९ सदस्यीय छानबिन समिति बनाइएको थियो।  

समितिले भण्डार महाशाखामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षकसहित ७ जनालाई भण्डारण गरिएको सामानको विवरण र अवस्थाबारे सोधपुछका लागि झिकाइएको केन्द्रीय सह-प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले बताए।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा लिई त्यस दिन ड्युटीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मूलगेटमा खटिएका २ जनालाई सोधपुछका लागि मुख्यालय झिकाइएको छ।

समितिले मंगलबार बिहानैदेखि घटनास्थललाई सिल गरेर सुरक्षाको लागि नयाँ टोली राखेको छ।

आगलागीबाट क्षति भएका सामानको विवरण संकलन पनि तीव्र पारिएको सशस्त्रले जनाएको छ। आगलागीबाट जोगिएका प्रयोगमा ल्याउन मिल्ने सामान छुट्याई सिल गरेर सुरक्षित स्थानमा राखिएको छ।

समितिले भण्डार महाशाखामा रहेको सम्पूर्ण सक्कल अभिलेख अध्ययन गरि के–कति सामान रहेको र कति क्षति भएको विवरणसमेत संकलन गरिरहेको छ।

स्टोर सुरक्षार्थ राखिएको सीसी क्यामेराको फुटेजसमेत समितिले अध्ययन गरिरहेको छ। फुटेजमा भवनको बीचमा रहेको कोठाबाट सानो मात्रामा धुवाँ आएको केही सेकेण्डभित्र नै ठूलो मुस्लो देखिएको छ। 

त्यसलगत्तै बाहिनीभित्र रहेका सुरक्षाकर्मी तत्काल घटनास्थल पुगेको देखिएको छ। आगलागीबाट फ्री स्केलका सामान, विपद् उद्धारका सामानसमेत जलेर नष्ट भएका छन्।

सशस्त्र प्रहरी बलको मुख्य स्टोर हलचोकमा थियो। तर केही वर्ष अघिदेखि शाखा स्टोरका रुपमा बलम्बुमा जिन्सी सामान भण्डारण गरिएको थियो।

केही फ्री स्केलका सामान भण्डारण गरेर मातहत कार्यालयमा पठाउने तयारी भएका बेला अचानक आगलागी भएकोले कर्मचारीलाई वितरण गर्ने सामान पनि जलेर नष्ट भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .