जोर्डन क्षत्री उमेरले भर्खर ३० टेके। उनलाई १४ वर्षकै उमेरमा फोक्सोको क्यान्सरले समत्यो। क्यान्सर प्रमाणित हुँदासम्म चाहिँ उनी १५ वर्ष पुग्दै थिए।
क्यान्सर भनिसकेपछि परिवार र आफन्तको हंसले ठाउँ छाड्यो। जोर्डनको पढाइ अवरुद्ध भयो। तीन वर्ष पूरै क्यान्सरसँग संघर्ष गर्नुपर्यो।
१७ वर्ष पुगेपछि बल्लतल्ल उनले क्यान्सरलाई जिते। जब उनी निको भए, त्यसपछि लाग्न थाल्यो– म सामान्य अवस्थामा किन फर्किन सक्दिनँ?
क्यान्सरलाई जितिसकेपछि पुरानै सामान्य अवस्थामा फर्किन सकिन्छ भन्ने आफूले त बुझे तर अरूलाई बुझाउन बाँकी छ भन्ने उनलाई लाग्यो।
त्यसैले केही न केही सन्देशमूलक र साहसिक काम गर्ने उनको हुटहुटी थियो। त्यो हुटहुटी यसपालि पूरा भएको छ, आइतबार बिहान ९ः३५ बजे।
उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा टेकेका छन्।
क्यान्सर जितेर सर्वोच्च शिखर पुग्नेमा जोर्डन चौथो र फोक्सोको क्यान्सरसँग जुधेर पनि यो सफलता हासिल गर्नेमा पहिलो बनेका छन्।
‘उनले निकै ठूलो जोखिम उठाएर सगरमाथा चढ्ने निधो गरेका थिए,’ जोर्डनका बुवा योगेन्द्रबहादुर क्षत्रीले नेपालखबरसँग भने, ‘अन्ततः उनको आत्मविश्वासले जितेको छ।’
पुर्ख्यौँली घर म्याग्दी भएका योगेन्द्रबहादुर क्षत्री गोर्खा सैनिकका रूपमा बेलायत पुगे। उनी बेलायतमै छँदा जोर्डन जन्मिए।
साहसिक र समाजलाई सन्देश दिने खालको काम गर्ने उद्देश्यले जोर्डनले आरोहणसम्बन्धी अभ्यास थाले। यसै क्रममा पहिला अर्जेन्टिनाको ६ हजार ९ सय ६१ मिटर उचाइको अकोन्कागुवा हिमालको आरोहण गरे।
विश्वको सर्वोच्च शिखर सगरमाथाकै सफलतापूर्वक आरोहण गरेपछि उनको आत्मविश्वास झन् बढेको छ। र, यसैगरी सातवटा हिमाल आरोहण गर्ने योजना बनाएका छन्।
जोर्डनका बुवा योगेन्द्रका भनाइमा, क्यान्सरपछि पनि सामान्य अवस्थामा फर्किन सकिन्छ भन्ने सन्देश दिन र क्यान्सर प्रभावितको उपचारमा सहयोग गर्नका लागि अभियान नै चलाउन चाहन्छन् उनी। यसमा पनि बालबालिकाको क्षेत्रमा काम गर्ने अठोट जोर्डनले लिएका छन्।
Shares
प्रतिक्रिया