नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरेर दुई जनालाई नेपाल ल्याएको छ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई इन्टरपोलकै सहयोगमा पक्राउ गरेर बिहीबार नेपाल ल्याइएको प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
पक्राउ पर्नेमा ज्यानसम्बन्धी कसुरमा फरार मोरङ लेटाङ नगरपालिका ३ का ४१ वर्षीय बलबहादुर लिम्बु र विद्युतीय कारोबारसम्बन्धी कसुरमा फरार रहेका नवलपरासी पूर्वमध्यबिन्दु नगरपालिका १३ का २३ वर्षीय सन्तोष न्यौपाने छन्।
एनसीबी अबुधावी यूएईको समन्वयमा पक्राउ गरी उनीहरूलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने गरी बिहीबार नेपाल फिर्ता ल्याइएको हो।
बलबहादुरविरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा यूएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी ७ मा रेड नोटिस जारी भएको थियो।
यसैगरी विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा सन्तोषविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भई वैदेशिक रोजगारीका सिलसिलामा यूएईमा रहेको खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न साइबर ब्युरोले पठाएको पत्रअनुसार एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएको थियो।
बल बहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई साइबर ब्युरोमा बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।
Shares
प्रतिक्रिया