विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा मुद्दा गएको छ। प्रसाईंका कानुन व्यवासायीले सोमबार बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालत प्रशासनमा वारेसमार्फत पुगेको हो।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले अदालतमा रिट पेस भएको र अहिले दर्ताका लागि अध्ययन भइरहेको नेपालखबरलाई जानकारी दिए।
आइतबार आफ्नै निवासबाट पक्राउ परेका प्रसाईं राति नै वीर अस्पतालमा भर्ना भएका थिए। नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई अस्पतालबाट लगेर बयान थालेको छ।
प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई काठमाडौँ जिल्ला अदालतले तीन दिनको म्याद थप गरेर हिरासतमा राख्ने अनुमति दिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए।
सोही जाहेरीपछि अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो।
विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो।
Shares
प्रतिक्रिया