स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर डेंगी फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न शुक्रराज संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको नेतृत्वमा तीन सुझाव कार्यदल गठन गरेको छ।
समितिमा स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत सुदीप आले सदस्य र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला सदस्य सचिव तोकिएका छन्।
देशैभर अस्पतालमा डेंगीका बिरामी बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले रोकथाम तथा नियन्त्रणका लागि कार्यदल बनाएका हुन्। कार्यदललाई १५ दिनभित्र विज्ञसँग सुझाव लिएर मन्त्रालयलाई प्रतिवेदन दिन भनिएको छ।
कार्यदललाई अल्पकालीन तथा दीर्घकालीनरूपमा चालिने कदम तथा नीतिबारे सुझाव दिन जिम्मेवारी तोकिएको छ। प्रभावकारी जनचेतनाका उपाय सुझाउन पनि भनिएको छ।
यसैगरी समुदायस्तरमा डेंगी नियन्त्रणका नयाँ र भरपर्दो विधि तथा डेंगीबाट हुने मृत्युदर कम गर्ने प्रभावकारी उपाय सुझाउनसमेत समितिलाई जिम्मेवारी प्रदान गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
Shares
प्रतिक्रिया